लक्ष्मण बस्नेत,
हेकुली ११ फागुन । दङ्गिशरण गाउँपालिका स्तरिय दोस्रो तथा १२औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ भोलि सोमबार देखि सुरु हुँदैछ ।
दङ्गिशरण गाउँपालिकाको आयोजना तथा बिरेन्द्र मावि हेकुलीको संयोजनमा संचालन हुने प्रतियोगिता को औपचारीक उद्घाटन सोमबार बिहान १० बजे गर्ने कार्यक्रम तय गरिएको गाउँपालिका कार्यालयले जनाएको छ ।
तीन दिनसम्म संचालन हुने प्रतियोगितामा भलिबल, कबड्डी छात्र÷छात्रा, ऎथ्लेटिक्स ट्रयाक तर्फ १००, २००, ४००, ८००, १५००, ३००० मिटर छात्र र छात्रा दौड, १०० गुणा ४०० र ४ गुणा ४०० छात्र÷छात्रा रिले दौड तथा फिल्ड तर्फ हाईजम्प, लङजम्प, त्रीपलजम्प, ज्याभलिङ थ्रो र सटपुट छात्र÷छात्रा बीच कडा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा दङ्गिशरण गाउँपालिका क्षेत्रका सामुदायिक तथा निजि बिद्यालयको सहभागिता रहनेछ, भने विद्यालयमा कक्षा १२ सम्म अध्ययन गर्ने १८ बर्ष उमेर सम्मका छात्र÷छात्राले मात्र भाग लिन पाउनेछन् ।
यसैबिच प्रतियोगिताको आयोजक दङ्गिशरण गाउँपालिका तथा संयोजनको जिम्मा पाएको बिरेन्द्र माविबी हेकुलीले प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको जनाएको छ । तयारी स्वरुप खेलमैदान मर्मत, ट्रयाक एण्ड फिल्ड निमार्ण, आर्थिक तथा प्राबिधिक ब्यबस्थापन, प्रचार प्रसार लगायत कार्य पूरा भएको र उद्घाटन समारोह मा उपस्थितिको लागि राजनितिक दल, समाजसेवि, बुद्धिजीवी, खेलप्रेमी, खेलाडी, पत्रकार लगायत सबैमा हार्दिक अनुरोध गरेको दङ्गिशरण गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद समितिका प्रमुख बिनोद अधिकारीले जानकारी दिनुभएको छ ।