२०८२ बैशाख ९ गते सोमवार
२०८२ बैशाख ९ गते सोमवार

संकटमा ओली सरकार, एकपछि अर्को बज्रपात

काठमाडौं,
१२ फागुन । आफ्नो ६९ औं जन्मोत्सव मनाइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सरकार एकपछि अर्को संकटमा फस्न थालेको छ । यी संकट आन्तरिक र बाह्य दुबै किसिमका छन् ।

तर, प्रधानमन्त्री ओलीले भन्दैछन्, ‘मेरो जिन्दगी लडाइँमा बित्या छ, शरीरभित्र तार, यन्त्र-सन्त्र राखेर पनि चल्छु ।’

आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ, जुन बैठकमा प्रधानमन्त्रीले सञ्चारमन्त्रीको अडियो प्रकरणबारे जवाफ दिनुपर्ने, अन्यथा संसदै चल्न नदिने विपक्षी नेपाली कांग्रेसले माग राखेको छ ।

प्रधानमन्त्रीले संसदमा आएर जवाफ देलान्रनदेलान् त्यो दुई दिनपछि थाहा हुनेछ । तर, उनले संसदमा जवाफ दिएनन् भने प्रतिनिधिसभा र राष्ट्रियसभा दुबै सदनका बैठकहरु प्रभावित हुने देखिन्छन् ।

तर, ओली सरकार बाह्यभन्दा बढी आन्तरिक संकटमा फसेको छ । गोकुल बास्कोटा काण्डले आम जनमानसमा पनि सरकारमाथि तीव्र आलोचना भइरहेको छ ।

सरकारमाथि एकपछि अर्को बज्रपात

आफ्नो दाहिने हात मानिँदै आएका निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटा भ्रष्टाचार प्रकरणमा विवादमा तानिएर पदच्युत बनेपछि प्रधानमन्त्री ओली रक्षात्मक बनेका छन् ।

ठीक यहीबेला प्रधानमन्त्रीमाथि अर्को बज्रपात परेको छ – एमसीसी कार्यदलको रिपोर्ट ।

एमसीसी जसरी पनि पास हुन्छ भनेर संसदभित्र र बाहिर गर्वका साथ बोल्दै आएका प्रधानमन्त्रीको चाहना विपरीत झलनाथ खनाल नेतृत्वको कार्यदलले यथास्थितिमा एमसीसी पारित गर्न नमिल्ने रिपोर्ट बुझाइदिएको छ ।

अब पार्टीले दिएको सुझाव कार्यान्वयन गर्ने कि पार्टीको निर्णयलाई लत्याएर अघि बढ्ने रु प्रधानमन्त्री ओली धर्मसंकटमा परेका छन् । कार्यदलको प्रतिवेदनबारे अब सचिवालयमा छलफल हुनेछ, जहाँ बहुमतले एमसीसी संसदबाट पारित नगर्ने निर्णय गरिदियो भने प्रधानमन्त्री ओली थप नैतिक संकटमा पर्नेछन् ।

सचिवालयले कार्यदलको निर्णय हुबहु लागू गर्न भन्यो भने प्रधानमन्त्रीले त्यसलाई मानेर अघि बढ्नुको विकल्प रहने छैन । पार्टीको निर्णय नमान्दा उनीमाथि बहुमतको डण्डा चल्ने खतरा छ ।

किनभने, सचिवालयमा प्रधानमन्त्री ओली अल्पमतमा परिसकेका छन् । ९ सदस्यीय सचिवालयमा ओलीको पक्षमा तीनजना र प्रचण्ड-माधव पक्षमा ६ जना छन् । ओलीतिर उनी आफू, ईश्वर पोखरेल र विष्णु पौडेल छन् भने माधव-प्रचण्ड समूहमा झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र रामबहादुर थापा बादलसमेत छन् ।

एमसीसीका बारेमा अहिलेसम्मको समीकरण कायमै रह्यो भने त्यो पारित नहुने अवस्था आउन सक्छ । एमसीसी पारित भएन भने प्रधानमन्त्रीले अहिलेसम्म संसदभित्र र बाहिर बोलेका कुराहरु अमान्य ठहरिने छन् ।

एमसीसी प्रकरणमा प्रधानमन्त्री ओलीसँगै परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली संकटमा फसेका छन् । परराष्ट्र मन्त्रीको हैसियतले उनले अमेरिका भ्रमणदेखि लिएर विभिन्न बैठकहरुमा भाग लिँदै आएका छन् । क्याबिनेटले नै पारित गरिसकेको यो सम्झौता संसदबाट पारित गर्न भूमिका खेल्नु मन्त्री ज्ञवालीको पनि दायित्व हो । तर, झलनाथ कार्यदलमा बसेका ज्ञवालीले समेत यसलाई यथास्थितिमा पारित गर्न नहुने निश्कर्षमा सहमति जनाएको संयोजक खनालले बताइसकेका छन् ।

यदि ज्ञवालीले एमसीसी परिमार्जन नगरी पारित गर्नुहुँदैन कार्यदलको भनेर प्रतिवेदनमा सहमति जनाएका हुन् भने त्यो उनको दाहोरो भूमिका हो । मन्त्रिपरिषदबाट पारित गर्ने अनि पार्टीको कार्यदलमा हुँदैन भन्ने हो भने यसबाट परराष्ट्रमन्त्री माथि पनि नैतिक प्रश्न उठ्छ, उठेको छ । यी नैतिक प्रश्नमा उभिएर परराष्ट्रमन्त्रीले राजीनामा दिए भने प्रधानमन्त्री थप कमजोर हुनेछन् । मन्त्री ज्ञवाली अहिले जेनेभा भ्रमणमा छन्, उनी १६ गते मात्र स्वदेश र्फकँदैछन् । यहीवीचमा नेकपा सचिवालयमा कार्यदलको प्रतिवेदनमाथि छलफल हुँदैछ ।

ओली सरकारमाथिको अर्को संकट हो-अर्थमन्त्रीको पदावधि

आगामी फागुन २० गतेबाट अर्थमन्त्री डा. युवराज खतिवडाको मन्त्रीपद रिक्त हुँदैछ । गोकुल बास्कोटा र प्रदीप ज्ञवालीजस्तै डा. खतिवडा प्रधानमन्त्रीका बलिया सारथी हुन् । बहुमतमा रहेका माधव-प्रचण्ड समूह अर्थमन्त्रीलाई निरन्तरता नदिने पक्षमा छ, सचिवालयमा उनीहरुकै बहुमत छ । माधव-प्रचण्ड समूहको चाहना फागुन २० पछि निर्वाचित सांसद सुरेन्द्र पाण्डेलाई अर्थमन्त्री बनाउने भन्ने छ ।

यो अवस्थामा डा. युवराज खतिवडाको निरन्तरता रहेन भने ओली सरकार झनै कमजोर हुन जाने निश्चित छ । सचिवालयलाई बाइपास गरेर प्रधानमन्त्री अघि बढेमा यहाँ पनि उनीमाथि बहुमतको डण्डा चल्न सक्ने नेकपाको पछिल्लो समीकरणले देखाएको छ ।

प्रधानमन्त्री माथि ओलीमाथि आइलागेको अर्को चुनौती के हो भने यहीबेला उनको मृगौला प्रत्यारोपण गर्नुपर्ने छ । यसका लागि केही महिना भौतिकरुपमै आराम गर्नुपर्ने हुन्छ । झनै सक्रिय हुनुपर्ने बेलामा प्रधानमन्त्रीको जिम्मेवारीमा रही रहेर किड्नी ट्रान्सप्लान्टका लागि समय निकाल्नु उनको अर्को भवितव्य अर्थात संकट हो ।

साभार–अनलाईन खबर