२०७७ मङ्सिर ९ गते मङ्गलवार
२०७७ मङ्सिर ९ गते मङ्गलवार

समृद्धिका लागि आयआर्जनमुखी कार्यमा ध्यान दिऔं : मुख्यमन्त्री

दाङ,
१२ फागुन । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले जनताको साथले नै समृद्धि हाँसिल गर्न सकिने बताएका छन् । प्रदेश नं. ५ सरकारको स्थापना दिवसको अवसरमा दाङको वेलझुण्डीमा भएको एक्स्पो समापन समारोहलाई सम्बोधन गर्दै उनले जनताको साथविना मुलुकलाई समृद्ध बनाउन नसकिने समेत बताए । ‘मुलुक समृद्ध बनाउन सरकारले मात्रै गरेर हुँदैन्, जनताले पनि साथ दिनुपर्छ’ उनले भने ।

उनले मुलुक समृद्धिको यात्रामा अघि बढेको भन्दै त्यसमा जनताले साथ दिनुपर्ने बताए । उनले प्रदेश नं. ५ को समृद्धि नै सिंगो मुलुकको समृद्धि रहेको समेत बताए । शनिबारदेखि सुरु भएको एक्स्पोले प्रदेशको पहिचान, संस्कृति र सम्भाबना झल्काएको समेत उनले बताए । अहिले स्टलमा प्रदेशभित्र उत्पादन हुने कृषिजन्य वस्तुहरु पनि राखिएको भन्दै अहिले कृषिजन्य बस्तु बजारीकरणमा समस्या रहेपनि त्यो समस्या समाधान गर्न तर्फ प्रदेश सरकार तत्पर रहेको बताए ।

अहिले निर्वाहमुखी हुने गरेको भन्दै मुलुकको समृद्धिका लागि आयआर्जनमुखी कार्यमा समेत ध्यान दिनुपर्ने उनको भनाई थियो । उनले कृषकका लागि थोरै ब्याजमा अनुदान दिने गरि प्रदेश सरकारले अघि बढेको समेत बताए । अहिले वनक्षेत्रबाट उत्पादन लिन नसकिएको भन्दै उनले वनबाट ५० प्रतिशत उत्पादन लिन सक्नुपर्ने समेत बताए । उनले प्रदेशले समृद्धिका लागि पर्यटनको विकासमा पनि ध्यान दिएको बताए ।

प्रदेश नं. ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा कार्यक्रम भएको हो । त्यस अवसरमा राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा, कोमल ओली, प्रतिनिधिसभा सदस्य शान्ता चौधरी, प्रदेशसभा सदस्य विमला ओलीसहित प्रदेश नं. ५ का सांसदहरुको सहभागिता थियो । कार्यक्रममा विभिन्न पहिचान झल्किने थारु नाँच, थाल नाँच, सारंगी धुन प्रस्तुत गरिएको थियो ।

साथै तीन दिनसम्म प्रदेश नं. ५ को पहिचान, संस्कृति झल्किने करिब दुईसय स्टलहरु राखिएको थियो । एक्स्पोमा प्रदेश नं. ५ का १२ वटै जिल्लाको पहिचान झल्किने नाच तथा झाँकीहरु समेत प्रस्तुत गरिएको थियो । प्रदेशको समग्र विकासमा टेवा पु-याउनुका साथै प्रदेशका काम, कारवाहीको बारेमा जानकारी दिन स्थापना दिवसमा एक्स्पोको आयोजना गरिएको हो ।