२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

घोराही भित्रका सीमसार र जलाशयको संरक्षण गर्न अध्ययन सुरु

दाङ,
१३ फागुन १३ । दाङको घोराही उपमहानगरपालिका भित्र रहेका एक सय वटा सीमसार र जलासयहरुको संरक्षण, बिकास तथा प्रवद्र्धनका सम्वन्धमा स्थलगत अध्ययन थालिएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघले घोराही उपमहानगरपालिकाको सहयोगमा उपमहानगरका १९ वटै वडामा पुगेर स्थलगत अध्ययन थालेको हो । अध्ययनका क्रममा पुराना जलासय क्षेत्रहरुलाई संरक्षण गर्ने उपायहरु, प्रक्रिया, उपयोगिता र लागत सहितको अध्ययन प्रतिवेदनको मस्यौदा तयार गरेको छ ।

त्यस्तै, सम्भावित नयाँ सिमसार क्षेत्रलाई जलासययुक्त क्षेत्र निर्माणका लागि सल्लाह सुझाव सहितको प्रतिवेदन तयार गरेको सामुदायिक वन उपभोक्ता महासंघ दाङका कोषाध्याक्ष कमलराज पोख्रेलले जानकारी दिनुभयो । मस्यौदा प्रतिवेदनका बारेमा सुझाव लिन घोराहीमा आयोजना गरिएको सरोकारवालाहरुसँगको छलफलमा सहभागि सरोकारवालाका निकायका प्रतिनिधिले बृहत्तर हितमा हुने गरी जलासयहरुको संरक्षण हुनु पर्नेमा जोड दिएका छन ।

घोराही उपमहानगरपालिका पर्यटन शाखाका संयोजक रमेश पाण्डेयको अध्यक्षतामा भएको कार्यक्रममा सहभागिहरुले जलासयको संरक्षणसँगै त्यसको बहुआयामिक उपयोगिता सहितको रणनिति बनाइ अघी बढ्नुपर्नेमा जोड दिएका छन ।
कार्यक्रममा पर्यटन शाखाका सदस्य केवि मसाल, डा गोविन्द आचार्य, डा. शिव सुवेदी, वन महासंघका केन्द्रीय उपाध्याक्ष भिमप्रकाश खड्का, जिल्ला अध्यक्ष भूपेन्द्र सुवेदी, नगरपालिकाका अधिकृत होमलाल भुसाल लगायतकाले सुझाव दिनु भएको थियो ।

प्रतिवेदनमा प्रत्येक वडाबाट प्राथमिकतामा राखिएका जलाशयहरुलाई निर्माण तथा संरक्षणका लागि घोराही उपमहानगरपालिकाको पर्यटन शाखामा पेश गर्ने वन महासंघले जनाएको छ ।