२०८१ चैत्र ६ गते बुधवार
२०८१ चैत्र ६ गते बुधवार

एसईईमा गणित, बिज्ञान र अङ्ग्रेजीका प्रश्न सरल बनाइने

काठमाडौ,
१७ फागुन । २०७५ को एसईई परीक्षामा ४ लाख ५९ हजार विद्यार्थीमध्ये आधाभन्दा बढी माथिल्लो कक्षामा जान सकेनन् । विज्ञान, अंग्रेजी र गणित विषयमा सबैभन्दा बढी विद्यार्थी असफल भए । जबकि गणित बाहेक सबै विषयमा सैद्धान्तिकमा ५ मात्र ल्याए पनि आन्तरिक मूल्यांकनमा २५ अंक दिएर माथिल्लो कक्षा चढाउने व्यवस्था छ । यो व्यवस्थाका बाबजुद धेरै विद्यार्थी असफल भएपछि विज्ञान, अंग्रेजी र गणितको प्रश्नपत्र सरल बनाउन लागिएको हो ।

२०७७ को एसईई देखि लागू गर्नका लागि फागुन ८ गते नमुना परीक्षा समेत सञ्चालन गरिसकिएको छ ।  धेरै विद्यार्थीले परीक्षामा माथिल्लो ग्रेड ल्याउन सकून् भन्ने उद्देश्यले परीक्षामा सजिला प्रश्न सोध्ने तयारी गरिएको सरकारी अधिकारी संकोच नमानी बताउँछन् । मन्त्रालयले विश्व बैंकसँग आर्थिक सहयोग लिएर राष्ट्रिय परीक्षा बोर्डमार्फत विद्यालयका प्रधानाध्यापक र विषयगत शिक्षकलाई तालिम समेत दिइसकेको छ ।

सैद्धान्तिकतर्फ ७५ पूर्णाङ्कमा ५ मात्र ल्याए पनि प्रयोगात्मकमा अंक दिएर विद्यार्थीलाई माथिल्लो कक्षामा चढाएकै विषयमा विरोध भइरहेको छ । अब त झन् प्रश्नपत्र थप सजिलो बनाएपछि शैक्षिकस्तर झनै खस्किने भनेर आलोचना बढेको छ । यसले विद्यार्थी र शिक्षकमा पढ्न र पढाउन पर्दैन भन्ने भावना विकास भइ समग्रमा स्तरीय जनशक्ति उत्पादनमै आघात पर्ने विज्ञहरुको भनाइ छ । खस्कँदो शैक्षिकस्तर सुधार अहिलेको आवश्यकता हो । कमजोरी सुधार गर्नुको साटो सजिला प्रश्न सोधेर विद्यार्थीलाई माथिल्लो कक्षामा जाने व्यवस्था गर्न लाग्नुलाई कमजोरी ढाकछोप गर्ने प्रयासका रुपमा लिइएको छ ।