२०७९ फाल्गुन २७ गते शनिवार
२०७९ फाल्गुन २७ गते शनिवार

खराब ब्याटिङले हङकङसँग नेपालको लज्जास्पद हार

बैंकक,
१८ फागुन । थाइल्यान्डमा जारी एसीसी स्टर्न रिजन टी–२० क्रिकेटको दोस्रो खेलमा हङकङसँग नेपालले लज्जास्पद हार व्यहोरेको छ। आज आइतबार बिहान भएको खेलमा हङकङसँग ४३ रनले नेपाल पराजित भएको हो।

टस जितेर नेपालबाट ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५४ रन बनाएको थियो । जवाफमा नेपालले १८.१ ओभरमा १११ रन मात्रै बनाउन सक्यो ।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन जोडे । उनले ४३ बलको सामना गर्दै ४ चौका र १ छक्का हिर्काएका थिए। त्यस्तै ओपनर कुशल मल्लले १४ बलको सामना गर्दै १९ रन बनाएका थिए ।

त्यस्तै तेस्रो नम्बरमा आएका पारस खड्का र मध्यम क्रममा आएका कुनै पनि ब्याट्स्म्यान चल्न सकेनन्। पूर्व कप्तान पारस ४ रनमै एलबीडब्लू धरापमा परे। अबिनाश बोहराले ७ बलको सामना गर्दै १२ रन जोडे । आरिफ शेखले १० रन बनाए भने उपकप्तान दीपेन्दसिंह ऐरी ८ बलको सामना गर्दै ५ रनमै पेभिलियन फर्किए।

यसअघि ब्याटिङ गरेको हङकङले राम्रो सुरुवात गरेको थियो। उसका ओपनरले ४७ बलमा ५८ रनको साझेदारी गरेका थिए। उक्त साझेदारी सुशन भारीले ७.५ ओभरमा तोड्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए। उनले २६ रन बनाएर खेलिरहेका ओपनर शाहिद वासिफलाई आरिफ शेखको हातबाट क्याच आउट गराएका हुन्। त्यस्तै दोस्रो विकेट पनि कुशलले नै लिएका थिए। उनले अर्का ओपनर निजकात खानलाई ४८ रनमा पेभिलियन पठाएका हुन्। हङकङका मोहम्मद अजिज खान भने २९ रनमा रनआउट भए।

यसैगरी लेग स्पीनर सन्दीप लामिछानेले २ विकेट लिए। उनले किंचित साहलाई शून्य र जेम्स एट्किन्सनलाई १३ रनमा आउट गराएका हुन्। नेपालका लागि कुशल मल्लले १ विकेट हात पारे।

यो हारसँगै नेपाल एसियाकप छनोट चरणमा पुग्ने सम्भावना लगभग समाप्त भएको छ। यसअघि शनिबार मलेसियाविरुद्ध ब्याटिङनचल्दा अप्रत्यासित रूपमा नेपालले २२ रनको हार व्यहोरेको थियो।