२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण बुधबार गरिने

काठमाडौं,
१८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी बुधबार मिर्गौला प्रत्यारोपण गरिने भएको छ ।

त्रिवि शिक्षण अस्पतालमा नै प्रत्यारोपण हुनेछ । यसका लागि उनी भोलि नै अस्पताल भर्ना हुनेछन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज आइतबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले आफ्नो उपचार योजनाबारे जानकारी गराएका थिए ।

प्रधानमन्त्री ओलीले यो दोस्रो मिर्गौला प्रत्यारोपण हुनेछ ।प्रधानमन्त्री ओलीको २०६३ मा भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसयता उनले निरन्तर औषधि खाइरहेका छन् ।

सन् २०१३ मा ‘मेनिन्जाइटिस’ भयो । शिक्षण अस्पताल महाराजगञ्जमा पुगेका उनलाई ग्राण्डीमा रिफर भएपनि उपचार सम्भव भएपछि बैंकक गलिएको थियो । त्यहाँ महिना दिनभन्दा लामो उपचारका क्रममा ढाडबाट पानी झिक्नुपर्ने अवस्था थियो ।

उनी बेलाबेला स्वास्थ्य परीक्षणका लागि विदेश गइरहन्थे । पछिल्लो पटक १८ साउनमा स्वास्थ्य परीक्षणका लागि सिंगापुर गए । २७ साउन स्वदेश फर्किएका उनको मिर्गौलाले राम्रोसँग काम नगरेपछि ५ भदौमा फेरि सिंगापुर पुगे ।

नेशनल युनिभर्सिटी अस्पतालमा फेरिसस प्लाज्माफेसेसिस प्रक्रियामार्फत उपचार गरिएको थियो । तर यो उपचारले पनि राम्रोसँग काम नगरेपछि २ कात्तिकमा फेरि अस्पताल पुगे । ४ गते बुधबार फेरि अस्पताल पुगेका उनको आकस्मिक रुपमा डायलाइसिस गरियो ।

त्यसयता उनको नियमित डायलासिस गरिँदै आएको छ । उनीसामू नियमित डायलासिस वा पुनः प्रत्यारोपण मात्र विकल्प थियो । चिकित्सकहरुसँग लामो परामर्शपछि उनले पुनः प्रत्यारोपणको विकल्प रोजेका छन् ।