२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

होलीमा पानीमा नभिज्न र भिडभाडमा नजान डाक्टरको सुझाव

काठमाण्डौ,
१९ फागुन ।
कोरोना भाइरसको जोखिम बढेको भन्दै होलीमा रमाईलो गर्दा ध्यान दिन डाक्टरले सुझाव दिएका छन् ।

पानीमा भिज्दा तथा भिडभाडमा रङ‍्ग अबिर दल्दा विशेष ध्यान दिन टेकु अस्पतालका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ डाक्टर अनुप बाँस्तोलाको सुझाव छ ।

कोरोनाको भाइरसको सङ्क्रमणबाट जोगिन व्यक्ति आफैँ पनि सचेत हुनुपर्ने उहाँले बताउनुभयो । होली पर्वमा एक अर्कालाई अबिर र रङ्ग लगाउँदा वा पानी खेल्दा मानिस मानिसबीचको दूरी नजिक हुने हुँदा रुघोखोकी सर्ने सम्भावना धेरै हुन्छ । यस्तै, हाछ्यूँ गर्दा थुक उछिटेर अरु व्यक्तिमा पनि सर्ने खतरा हुने डाक्टर बाँस्तोलाले बताउनुभयो ।

भिडभाड, मानिसको बाक्लो उपस्थिति भएका ठाउँमा नजान पनि डाक्टरको सुझाव छ । यस्तै, अहिले कोरोनाको उच्च जोखिम रहेकाले सकेसम्म समूहमा नहिँड्न र समूहमा नबस्न पनि डाक्टरको आग्रह छ ।

सङ्क्रमण फैलिनुअगावै सतकर्ता अपनाउन सके कोरोनाको संक्रमणलाई रोक्न सक्ने भन्दै डाक्टरले होलीमा धेरै पानी नखेल्न पनि सल्लाह दिएका छन् । कोरोनाको भाइरस चिसोमा बढी सक्रिय हुने हुँदा शरीर भिज्ने गरी होली नखेल्न डाक्टरको सुझाव छ । यस वर्षको होली आउँदो हप्ता मनाईंदैछ ।

रोग प्रतिरोधात्मक क्षमता कम हुनेहरुलाई कोरोना भाइरसको संक्रमणको जोखिम धेरै हुन्छ । यस्तै डाक्टरले रुघाखोकी, ज्वरो लगायतका स्वास्थ्य समस्या देखिए तुरुन्त डाक्टरको निगरानीमा जान पनि आग्रह गरेका छन् ।