बुटवल,
१९ फागुन । नियमित बैठक बस्न नसकेपछि प्रदेश सभा बैठकमा सदस्यको उपस्थिति पातलिँदै गएको छ । बिजनेस अभावमा प्रदेशको पाँचौं अधिवेशन माघ ५ गतेबाट सुरु भएको हो । अहिलेसम्म सातवटा मात्र बैठक बसेका छन् ।
हिउँदे अधिवेशनका सबै बैठकमा प्रदेश सभा सदस्यको उपस्थिति पातलो छ । चार महिनापछि बसेको पहिलो बैठकमा प्रदेश सभाका कुल ८७ मध्ये ६६ सदस्यमात्र उपस्थित थिए । त्यसयताका अन्य बैठकमा ५० को हाराहारीमा मात्र सदस्य उपस्थित भएका छन् । आइतबारको बैठकमा ४४ सदस्यमात्र उपस्थित भए । तर, हाजिरी रेकर्डमा भने ५५ जनाको उपस्थिति देखिएको छ । धेरै सदस्य हाजिर लगाए पनि बैठकमा बस्दैनन् । आइतबारको बैठकमा कांग्रेस सचेतक निर्मला क्षत्री उपस्थित नै भइनन् तर हाजिरी रेकर्डमा उपस्थिति देखियो । उनी बैठक सकिनै लाग्दा हाजिर गर्न पुगेकी थिइन् । त्यस्तै नेकपाका दधिराम न्यौपानेले बैठकमा १५ मिनेटमात्र बिताए र हाजिर गरेर फर्किए ।
प्रदेश सभाको पाँचौं अधिवेशनमा सरकारले बिजनेस दिन सकेको छैन । अधिवेशन सुरु भएको ४३ दिनमा सरकारका तर्फबाट तीन विधेयक दर्ता भएका छन् । सरकारले वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूले पाउने सुविधासम्बन्धी कानुनमा संशोधन र एकीकरण गर्न बनेको विधेयक र लोकसेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी विधेयक पेस भएका छन् । तीनवटै विधेयकमाथि सैद्धान्तिक छलफल जारी छ । सरकारले अन्य विधेयक तयार गर्न सकेको छैन् ।
बैठकमा छलफलका लागि पर्याप्त विषयवस्तु अभावकै कारण बैठक एक दिन बसेर कम्तीमा एक सातादेखि १५ दिनसम्म स्थगित हुने गरेको छ । शुक्रबार, शनिबार र आइतबार मात्र नियमित बैठक बसेका छन् । अर्को बैठक फागुन २९ गतेलाई आह्वान गरिएको छ । शुक्रबार ५४ र शनिबार ४९ जना प्रदेश सभा सदस्यको बैठकमा उपस्थिति थियो । आइतबारको बैठकमा सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरीमात्र उपस्थित थिए । अहिलेसम्म बैठकमा उठेका विषयवस्तुको जवाफ मुख्यमन्त्रीका तर्फबाट केसीले दिंदै आएका छन् ।
स्रोत : कान्तिपुर