२०७८ साउन १२ गते मङ्गलवार
२०७८ साउन १२ गते मङ्गलवार

थरुहट मोर्चाको बन्द भोली पनि जारी रहने

दाङ,
२० फागुन ।
थरुहट–थारुवान राष्ट्रिय मोर्चाले आह्वान गरेको बन्दका कारण आज दिनभर दाङ सहित पश्चिम तराई क्षेत्र जनजिवन प्रभावित बन्यो । मोर्चाले सरकारसँग १४ बुँदे माग राख्दै सरकारलाई गएको पौष २२ गते ज्ञापन पत्र बुझाएता पनि कुनै सुनुवाई नभएको भन्दै दबाव दिन दाङ सहित कैलाली, कञ्चनपुर, बर्दिया र बाँके लगाएत देशव्यापी रुपमा बन्दको घोषणा गरेको थियो ।

बन्दका कारण आज दिनभर तुलसीपुर बजार सहित जिल्लाबाट लामो तथा छोटो दुरीमा चल्ने सवारी साधन चल्न सकेका थिएनन् । यस्तै सरकारी कार्यालय, शैक्षिक संस्था, बजार तथा उद्योग कलकारखानामा समेत बन्दको प्रभाव परेको थियो । तुलसीपुर क्षेत्रमा फाटफुट रुपमा मोटरसाईकल, अटो रिक्सा जस्ता यातायातका साधन सन्चालन भएपनि ठुला सवारी साधनका गाडी नचल्दा यात्रुहरु भने मर्कामा परेका छन् ।

मंगलवार पहिलो दिन बन्द शान्तीपुर्ण तरिकाले सफल भएको उनले बताएका छन् । आफुहरुले आह्वान गरेको बन्द बुधवार बेलुकी पाँच बजे सम्म निरन्तर लागु हुने जानकारी दिँदै उनले यातायात व्यवसायीहरुलाई साँझ पनि गाडी नचलाउन अपिल गरीएको उनले बताएका छन् ।

मोर्चाले रेशम चौधरीसहित ११ जना जेलबन्दीको रिहाइ गर्नुपर्ने, टीकापुर घटनाबारे सत्यतथ्य छानबिन गर्न गठित छानबिन समितिको प्रतिवेदन र सर्वदलीय संसदीय समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायतका माग राख्दै आन्दोलनमा उत्रिएको बताएको छ । आफूहरुको माग सम्बोधनमा सरकार गम्भीर नबनेकोले बन्दको आव्हान गरिएको मोर्चाका जिल्ला सचिव चौधरीले बताएका छन् ।