२०७९ फाल्गुन २७ गते शनिवार
२०७९ फाल्गुन २७ गते शनिवार

थरुहटको तराई बन्द आज पनि जारी

दाङ,
२१
फागुन । थरुहट–थारुवान राष्ट्रिय मोर्चाले आह्वान गरेको बन्दका कारण आज बुधबार पनि दाङ सहित पश्चिम तराई क्षेत्र जनजिवन प्रभावित बनेको छ। मोर्चाले सरकारसँग १४ बुँदे माग राख्दै सरकारलाई गएको पौष २२ गते ज्ञापन पत्र बुझाएता पनि कुनै सुनुवाई नभएको भन्दै दबाव दिन हिजो र आज दाङ सहित कैलाली, कञ्चनपुर, बर्दिया र बाँके लगाएत देशव्यापी रुपमा बन्दको घोषणा गरेको थियो ।

बन्दका कारण आज पनि जिल्लाबाट लामो तथा छोटो दुरीमा चल्ने सवारी साधन चल्न सकेका छैनन्। यस्तै सरकारी कार्यालय, शैक्षिक संस्था, बजार तथा उद्योग कलकारखानामा समेत बन्दको प्रभाव परेको छ ।

मोर्चाले रेशम चौधरीसहित ११ जना जेलबन्दीको रिहाइ गर्नुपर्ने, टीकापुर घटनाबारे सत्यतथ्य छानबिन गर्न गठित छानबिन समितिको प्रतिवेदन र सर्वदलीय संसदीय समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायतका माग राख्दै आन्दोलनमा उत्रिएको बताएको छ । आफूहरुको माग सम्बोधनमा सरकार गम्भीर नबनेकोले बन्दको आव्हान गरिएको मोर्चाका जिल्ला सचिव चौधरीले बताएका छन् ।