२०७९ फाल्गुन २६ गते शुक्रवार
२०७९ फाल्गुन २६ गते शुक्रवार

नेपाल एसिया कप छनोटबाट बाहिरियो

काठमाण्डौं,
२१ फागुन ।
नेपाल एसीसी टी–२० इस्टर्न रिजनबाट एक खेलअघि नै बाहिरिएको छ । आज बुधबार भएको खेलमा सिङ्गापुरले हङकङलाई हराएसँगै नेपालको शीर्ष दुईमा रहने सम्भावना समाप्त भएको हो ।

हङकङले सिङ्गापुरलाई हराएको खण्डमा नेपालको झिनो आशा थियो । तर सिङ्गापुरले हङकङलाई १६ रनले हराएपछि नेपालको झिनो आशा पनि समाप्त भएको हो ।

नेपालका लागि हङकङले सिङ्गापुरलाई हराउने र अन्तिम खेलमा नेपालले सिङ्गापुरलाई हराएर हङकङले मलेसियालाई हराउनुपर्ने इक्वेसन थियो । जसमा नेपालले सिङ्गापुरलाई भारी अन्तरले हराउनु पर्ने अवस्था हुनसक्थ्यो । तर सिङ्गापुर विजयी भएपछि सबै इक्वेसन समाप्त भएको छ ।

नेपालले पहिलो खेलमा मलेसियासँग २२ तथा दोस्रो खेलमा हङकङसँग ४३ रनको हार बेहोरेको थियो । तेस्रो खेलमा आएर कमजोर टिम थाइल्याण्डलाई ९ विकेटले हराएर अङ्क जोडेको थियो ।

तर त्यसको चार घण्टामा नै नेपालका लागि दुःखद् खबर आयो । जसमा सिङ्गापुरले पहिले ब्याटिङ गर्दै २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ६८ रन बनायो । उसका लागि टिम डेभिडले ५८ रन बनाए भने सुरेन्द्रम चन्द्रमोहनले ३२ तथा सिद्धान्त सिंहले १७ रन बनाए । यस्तै मनप्रित सिंहले ४२ रनको योगदान गरे ।

जवाफमा हङकङ २० ओभरमा आठ विकेट गुमाउँदा एक सय ५२ रनमा रोकियो । उसका लागि जेम्स जोन एट्किन्सनले ५० रन बनाए भने सहिद वासिफले १७ तथा किनचित शाहले १४ रन बनाए । बलिङमा सिङ्गापुरका अनन्थ कृष्णा, अहान अचर र आर्यमन सुनीलले दुई–दुई विकेट लिए । यो जितले सिङ्गापुर शीर्ष दुईमा पुगेको छ । सिङ्गापुरले एसिया कप छनोट खेल्ने भएको छ । अब उसले अन्तिम खेल नेपालसँग खेल्नेछ ।