२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

सबै बालबालिकालाई अनिवार्य खोप लगाउन आग्रह

घोराही,
२१ फागुन ।
घोराही उपमहानगरपालिकाले बालबालिकालाई दादुरा रुबेलाको खोप अनिवार्य लगाउन सबै नगरबासीलाई आग्रह गरेको छ । उपमहानगरको स्वास्थ्य शाखाले आज नगर स्तरीय अभिमुखिकरण कार्यक्रमको आयोजना गरि फागुन २९ देखी चैत्र ७ गते सम्म ९ महिना देखी ५ बर्ष मुनिका सबै बालबालिकालाई दादुरा र रुबेलाको खोप लगाउन आग्रह गरेको हो ।

कार्यक्रममा नगरका कार्यबहाक प्रमुख सीता सिग्देल न्यौपानेले लक्षित समुहका कुनै पनि बालबालिकालाई खोपबाट बन्चित हुने अबस्था आउन नदिन स्वास्थ्यकर्मी, स्वंयसेविका तथा अभिभाबकहरुलाई आग्रह गर्नुभयो । रोगबाट बच्न गरिने लगानीमा विषेशगरी अभिभाबकहरु जिम्मेवार र स्वास्थ्यकर्मीहरु उत्तरदायी बनेर अभियानलाई सफल पार्न उहाँले अपिल गर्नुभयो ।

नगरभरीका १६ हजार ७ सय ४२ बालबालिकालाई दादुरा रुबेलाको खोप लगाउने र २० हजार ३ सय २१ बालबालिकालाई पोलियो थोपा खुवाउने लक्ष्य रहेको स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले जानकारी दिनुभयो । कार्यक्रममा स्वास्थ्य कार्यालय दाङका प्रमुख सुनिता पौडेलले दादुरा रुबेला अती छिटो सर्ने र महामारी नै लिने रोग भएको भन्दै अनिवार्य खोप लगाउन सबैलाई अपिल गर्नुभयो । बालबालिकाको मृत्युको कारण दादुरा पनि एक भएको भन्दै उहाँले जनप्रतिनिधी, अभिभावक र स्वास्थ्यकर्मीहरु थप चनाखो बन्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

त्यसैगरी, कार्यालयका खोप अधिकृत किशोर आचार्यले व्यक्ति स्वस्थ भए मात्रै देशको सहि गतिमा बिकास हुने भन्दै खोपले विभिन्न प्रकारका रोगबाट बचाउन सकिने उल्लेख गर्नुभयो । स्वास्थ्य शाखाका ठाकुर खनालले सहजिकरण गर्नुभएको कार्यक्रममा जनप्रतिनिधी, स्वास्थ्यकर्मी र पत्रकारहरुको सहभागिता रहेको थियो ।