२०७७ मङ्सिर २० गते शनिवार
२०७७ मङ्सिर २० गते शनिवार

कोरोनाका कारण ११ को मृत्यु भएपछि अमेरिकामा आपतकाल घोषणा

एजेन्सी,
२२ फागुन ।
कोभिड–१९ का कारण अमेरिकाको क्यालिफोर्नियामा पहिलो व्यक्तिको ज्यान गएपछि राज्यले आपत्काल घोषणा गरेको छ । क्यालिफोर्नियाको राजधानी साक्रामेन्ट नजिकको अस्पतालमा ७१ वर्षीय पुरुषको ज्यान गएपछि अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको छ ।

ज्यान गुमाउने व्यक्ति जापानको समुद्री तटमा रहेको डायमण्ड प्रिन्सेस क्रुज शिपमा रहेको बताइएको छ । जहाजमा यात्रा गरिरहेका केही व्यक्तिमा कोरोनाको सङ्क्रमण पाइएपछि जहाजलाई नै क्वारेन्टाइनमा राखिएको थियो । अमेरिकी राष्ट्रपति निवास तथा मुख्य कार्यालय ह्वाइट हाउसले कोरोनाको सङ्क्रमण बढ्दै गएपछि देशव्यापी रुपमा नै परीक्षणलाई तीव्रता दिने बताएको छ ।

अमेरिकाको १६ राज्यमा कम्तीमा एक सय ५० जनामा कोरोनाको सङ्क्रमण देखिएको अधिकारीहरुले जनाएका छन् । विश्वभरि ९० हजारभन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । अहिलेसम्म ८४ देशमा फैलिसकेको कोरोनाका कारण तीन हजार दुई सयभन्दा बढीको ज्यान गइसकेको छ ।

चीनमा सङ्क्रमित र ज्यान गुमाउनेको सङ्ख्या घट्दै गए पनि चीनबाहिर भने यसको सङ्क्रमण र ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको छ ।