कपिलवस्तु,
२२ फागुन । हुलाकी राजमार्ग निर्माण गरिरहेको शर्मा एण्ड कम्पनीका ६ ओटा गाडीमा नचिनेका मानिसहरुको समूहले आगजनी गरेको छ ।
कपिलवस्तुको विजयनगर गाउँपालिका राजमार्गअर्न्तगत लोहारौलाको सडक निर्माण गरिरहेको २ वटा एक्स्काभेटर, २ वटा ब्याक हो लोडर र २ वटा पिक अपमा आगजनी भएको हो । कार्यालयमा रहेका कर्मचारीको कोठामा बाहिरबाट चुकुल लगाइदिएर गाडीमा आगजनी गरेको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ । आगलागीको खबर पाएलगत्तै कृष्णनगर नगरपालिकाको दमकलले आगो नियन्त्रण गरेको थियो ।
शिवराज नगरपालिका ९, तुरुन्तपुरमा पनि निर्माणाधीन सडक किनारमा राखिएको स्काभेटरमा आगजनी भएको प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताउनुभयो । आगजनीबाट ६ वटै गाडीमा नोक्सान पुगेको छ । घटनास्थलमा नेपाल कम्युनिष्ट पार्टी कपिलवस्तु लेखिएको पर्चा भेटिएकोे प्रहरी नायब उपरीक्षक मल्लले बताउनुभयो । घटनाको थप अनुसन्धानका लागि प्रक्रिया अघि बढाएको उहाँले बताउनुभयो ।
कम्पनीले रुपन्देही जिल्लामा यसअघि गरेका काममा गुणस्तर नभएको तथा कम्पनीका सञ्चालक र कर्मचारीले पार्टीको सुराकी गरेको पर्चामा उल्लेख छ । हुलाकी मार्ग निर्माण स्थल वरपरका स्थानीयलाई मुआब्जा नदिइ आफ्नै ढङ्गबाट जबरजस्ती काम सुरु गरेको पर्चामा उल्लेख छ ।