काठमाडौं,
२२ फागुन । कोरोना भाइरसका संक्रमण बढेसँगै आयोजीत कार्यक्रमहरु स्थगित हुने क्रम बढ्दो छ । विश्वमै फैलिरहेको कोरोना भाइरसका संक्रमण अमेरिका, इटाली र इरानलगायत ६० भन्दा बढी देशमा फैलिएसकेको छ । यसैले गर्दा पनि विश्वमै यसको प्रभाव परेको छ ।
यसै क्रममा कोरोना भाइरसको जोखिम बढ्दै गएपछि आउँदो चैत १ गतेदेखि त्रिवि क्रिकेट मैदान हुने तय भएको एभरेष्ट प्रिमियर लिग(ईपीएल) स्थगित भएको छ । कोरोना भाइरस(कोभिड–१९) को संक्रमण बढ्दै गएपछि गृह मन्त्रालय, फ्रेन्चाइजी, नेपाल क्रिकेट संघ तथा सरोकारवालाको परामर्शमा प्रतियोगिता स्थगित गरिएको ईपीएलले प्रेस विज्ञप्ति जारी गर्दै घोषणा गरेको छ ।
कोभिड–१९ को सम्भावित संक्रमणको रोकथामका लागि भन्दै सरकारले ठूलो संख्यामा मानिस जम्मा हुने सभा सम्मेलन तथा खेल प्रतियोगिताहरु स्थगित गर्न निर्देशन दिइसकेको छ । प्रतियोगिता स्थगित गर्नुपर्दा दुःख लागे पनि सम्पूर्ण नेपाली नागरिक तथा विदेशी खेलाडीको स्वास्थ्य नै ठूलो कुरा भएकाले प्रतियोगिता स्थगित गरिएको अईपीएलका संस्थापक तथा प्रबन्ध निर्देशक अमिर अख्तरले जानकारी दिए । कोभिड–१९ को संक्रमणको अवस्था हेरेर प्रतियोगिताको नयाँ तालिकाबारे जानकारी दिइने समेत उनले बताए ।