बाँकै,
२३ फागुन । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन बाँकेको नेपालगञ्ज विमानस्थनलमा हेल्थ डेस्कको स्थापना गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले हेल्थ डेस्कमार्फत बिरामीको स्वास्थ्य परीक्षण गर्न सुरु गरेको हो ।
उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बिहीबारदेखि सञ्चालन गरिएको हेल्थडेस्कमा बिहान ५ बजेदेखि नै दुई दुई जना स्वास्थ्यकर्मी खटिएको जानकारी दिनुभयो ।
पालिकाले यसअघि जमुनाह नाकामा कोरोना भाइरसको जाँचका लागि हेल्थ डेस्कलाई प्रभावकारी रुपमा सञ्चालन गरिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आपूर्ति शाखाका प्रमुख चुडामणि भण्डारीसहितको टोलीले बिहीबार हेल्थडेस्कको स्थलगत अनुगमन गरी आवश्यक जानकारी लिएको छ ।
हेल्थ डेस्कमा शङ्कास्पद बिरामी फेला परे भेरी अस्पतालमा थप अनुसन्धान र उपचारका लागि पठाउने तयारी गरिएको पालिकाले जनाएको छ । उपमहानगरपालिकाले जनचेतनामूलक अभियान पनि सञ्चालन गरिरहेको छ । अहिलेसम्म जमुनाह नाकामा रहेको हेल्थ डेस्कमा एक जना पनि शङ्कास्पद बिरामी फेला परेका छैनन् ।
भण्डारी नेतृत्वको टोलीले बाँके र बर्दियाका सरोकारवाला निकायसँग बिहिबार नेपालगञ्जमा अन्तरक्रिया गरेको छ । कार्यक्रममा चिकित्सकहरुले स्वास्थ्यकर्मीलाई पूर्ण सुरक्षित बनाउन आवश्यक श्रोत साधन र उपकरण अभाव भएको बताएका छन् ।