बुटवल,
२४ फागुन। आउँदो चैत ५ गतेदेखि शुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा प्रदेश ५ बाट ८१ हजार चार सय एकजना विद्यार्थी सहभागी हुंदैछन् ।
प्रदेशका १२ जिल्लाबाट साधारणतर्फ ७६ हजार ६ सय १८, प्राविधिकतर्फ दुई हजार एक सय ३१ र ग्रेड वृद्धितर्फ दुई हजार ६ सय ५२ जना विद्यार्थी सहभागी हुने सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
जसमा ४२ हजार ६ सय ६५ जना छात्रा र ३९ हजार ७ सय ३३ जना छात्र छन् । परीक्षार्थीमध्ये एक हजार ७ सामुदायिक विद्यालयबाट ६० हजार ५ सय ५४ जना र ६ सय ६१ संस्थागत विद्यालयका २० हजार ८ सय ४७ जना रहेका छन् ।
३ सय २१ परीक्षा केन्द्र
एसईई परीक्षाका लागि प्रदेशका १२ जिल्लामा गरी ३ सय २१ परीक्षा केन्द्र तोकिएका छन् । जसमध्ये सबैभन्दा धेरै रुपन्देहीमा ५६, दाङमा ४५, बाँकेमा ३३, बर्दियामा ३२, कपिलवस्तुमा २९, गुल्मीमा २६, नवलपरासीमा २२, पाल्पामा २०, अर्घाखाँचीमा १७, रोल्पामा १८, प्युठानमा १७ र रुकुम पूर्वमा ६ वटा परीक्षा केन्द्र रहेका छन् ।
४ करोड ३९ लाख बजेट
प्रदेशमा एसईई परीक्षा सञ्चालनका लागि संघीय सरकारबाट ४ करोड १२ लाख रुपैयाँ प्राप्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । ग्रेडवृद्धि परीक्षाको लागि ७० लाखसमेत गर्दा ४ करोड ३९ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको सामाजिक विकासमन्त्री सुदर्शन बरालले बताए ।