२०८१ बैशाख ४ गते मङ्गलवार
२०८१ बैशाख ४ गते मङ्गलवार

विद्यार्थीलाई हात चिर्न लगाउने शिक्षिका पक्राउ

काठमाडौं,
२४ फागुन ।
परीक्षामा कम अंक ल्याएको भन्दै विद्यार्थीको हात चिर्न लगाउने शिक्षिकालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं जडिबुटीस्थित जागृति एकेडेमीकी शिक्षिका सीतालक्ष्‍मी कर्माचार्यलाई महानगरीय प्रहरी वृत बानेश्‍वरले पक्राउ गरेको हो। प्रहरीले उनलाई शनिबार बिहान घरबाट पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले बताए। जिल्ला प्रशासन कार्यलय काठमाडौंबाट म्याद थप गरेर कर्मचार्यविरुद्ध अभद्र व्यवहारको कसुरमा अनुसन्धान गरिने एसएसपी सुवेदीले बताए।

१२ वर्षदेखि सामाजिक शिक्षा पढाउँदै आएकी शिक्षिका कर्माचार्यले गत साता ६ र ७ कक्षाका विद्यार्थीको कक्षा परीक्षा लिएकी थिइन्। उनले कम अंक प्राप्त गर्ने ३४ विद्यार्थीको हात ब्लेडले चिर्न लगाएकी हुन्। हात चिरिएकामध्ये २५ विद्यार्थी कक्षा ६ र नौजना कक्षा ७ का हुन्। यता विद्यालयले भक्तपुर घर भएकी शिक्षिका कर्माचार्यलाई अवकास दिएको छ। घटनापछि विद्यार्थी तथा अभिभावकले शारीरिक दण्ड दिएको भन्दै गुनासो गरेका थिए। अभिभावकको गुनासोपछि विद्यालय व्यवस्थापन समितिको बैठक उनलाई अवकास दिन निर्णय गरेको विद्यालयका प्रिन्सिपल राजनकुमार श्रेष्ठले जानकारी दिए।

उनलाई शुक्रबारबाट लागू हुने गरेकी अवकास दिएको विद्यालयले जनाएको छ। विद्यार्थीलाई शारीरिक दण्ड दिने कार्यलाई निरुत्साहित गर्ने र शिक्षकबाट दण्डरहित शिक्षणको सम्मान गर्दै शिक्षिका कर्माचार्यलाई अवकास दिएको अवकास पत्रमा उल्लेख छ।