बनारस,
२५ फाल्गुन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरीले परापूर्वक कालदेखि नेपाल र बनारसको सम्बन्ध धार्मिक, राजनैतिक र शैक्षिक कारणले अत्यन्तै प्रगाढ र अमिट रहेको बताउनु भएको छ ।
शनिबार भारतको वनारसमा “International Seminar on Commemorating Democracy of Nepal: Different Facets” लाई सम्वोधन गर्दै गिरीले परापूर्वक कालदेखि हालसम्म बहुआयामिक दृष्टिकोणले नेपाल वनारसको सम्बन्ध महत्त्वपूर्ण भएको बताउनु भएको हो। वनारस हिन्दु धर्मको पवित्र तिर्थस्थल भएको उल्लेख गर्दै नेपालमा धार्मिक र नैतिक शिक्षाका अलावा खासगरी राजनीतिक चेतनाको विकासमा वनारस र काशीको महत्त्वपूर्ण योगदान रहेको बताउनु भएको थियो ।
हाम्रो देशमा एउटा कथन नै छ ‘न्याय नपाए गोर्खा जानू, ज्ञान नपाए काँशी जानू’ भनेर । ‘म आफु पनि बनारसको हावापानीसँग निकै भिजेको छु। मेरो हजुरबुबा पनि बनारसमै पढ्नु भएको थियो।,’ गिरीले भन्नू भयो।
नेपाल वनारस राजनीतिक सन्दर्भमा गिरीले भन्नुभयो–‘नेपाली राजनीतिका महारथी विपी कोईराला आफ्ना माता पिता दिव्या कोईराला र कृष्णप्रसाद कोईराला निर्वासनमा हुँदा विसं १९७१ भदौ १ गते बनारसमै जन्मनु भएको थियो । जसले नेपाली राजनीतिक धरातलमा नवीन तरङ्ग ल्यायो। विपीको जन्मले नेपालमा १०४ वर्षे राणाशान ढल्यो। नेपालमा राष्ट्रियता बलियो भयो। नेपाली प्रजातान्त्रिक समाजवादको जन्म भयो। सबै जातजातिमा समानता आयो। नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी २०२५–२०३३ सम्म ८ वर्ष वनारसमा निर्वासनमा बस्नुभएको हो। वनारस विश्वविद्यालय र कलकत्ता विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गर्नुभएका विपीले भारतीय स्तन्त्रता आन्दोलनमा सहभागी भएर विपी र मातृकाले राजनीति शुरू गर्नु भएको थियो । र उक्त आन्दोलनमा सहभागी भएको कारण विपी र मातृकालाई सन् १९३० मा ३ महिना जेलमा हालिएको थियो। बनारसमै नेपाली राष्ट्रिय काँग्रेसको स्थापना भएको हो। बनारसमा हुँदा सान्दाजुले हामीलाई नेपालमा हुनु पर्ने प्रजातान्त्रिक समाजवाद र राष्ट्रवादको वारेमा प्रशिक्षण दिनु हुन्थ्यो।’
उहाँले थप्नुभयो–‘सन्त नेता कृष्णप्रसाद प्रसाद भट्टराईको शिक्षादीक्षा र राजनीतिक चिन्तनको विकास पनि वनारसमै भएको थियो। राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले आफ्नो गोत्र परिवर्तन बनारसमै गरी कुटनैतिक सम्बन्धको लागि वनारसबाटै विवाह गर्नुभएको थियो। प्रथम साहित्यिक सहिद सुब्बा कृष्णलाल अधिकारी, विपी, वालचन्द्र शर्माजस्ता साहित्यकारहरूले पनि लेखन कार्यमा वनारसबाट अभिप्रेरित हुनुहुन्थ्यो।’
नेपालीको लोकतन्त्रको वारेमा विविध दृष्टिकोणले छलफल गरिएको सो अन्तर्राष्ट्रिय छलफल कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोईराला, केन्द्रीय सदस्यहरू डा.मिनेन्द्र रिजाल, डा.चन्द्र भण्डारी लगायतको सहभागिता थियोे ।