२०८१ असोज ३ गते बिहिवार
२०८१ असोज ३ गते बिहिवार

लुम्बिनीमा तय गरिएका सम्पूर्ण कार्यक्रम स्थगित

कपिलवस्तु,
२८ फागुन ।
कोरोना भाइरस संक्रमणको असर लुम्बिनीको पर्यटन व्यवसायमा पनि देखिन थालेको छ । पर्यटन प्रवर्द्धनका लागि एक वर्षअघि तय गरिएका कार्यक्रम धमाधम स्थगित गर्न थालिएको छ । भाइरस फैलिन नदिन स्थानीय प्रशासनले सतर्कता अपनाउन भीडभाड हुने कार्यक्रम रोक्न निर्देशन दिएलगत्तै यहाँ हुने तय भएका स–साना कार्यक्रम पनि रद्द गरिएको छ ।

फागुन शुक्ल पूर्णिमाको अवसर पारेर सोमबार यहाँ आयोजना गर्न लागिएको लुम्बिनी पिस म्याराथन नहुने भएको छ । ‘फागुन शुक्ल पूर्णिमा ऐतिहासिक दिन हो,’ पिस म्याराथनका परिकल्पनाकार विक्रम पाँडेकाजीले भने, ‘त्यस दिन गौतम बुद्धले ज्ञान प्राप्त गरेर पहिलोपटक राजधानी कपिलवस्तु फर्कनु भएको थियो ।’ उक्त दिनको स्मरण गर्न भनेर चार वर्षदेखि म्याराथन सञ्चालन हुँदै आएको थियो । यस वर्ष कोरोना संक्रमणबाट जोगिन स्थगित गर्नु परेको उनले बताए ।

४२ दशमलव १९५ किलोमिटर दूरीको पूर्ण र २१ किलोमिटर दूरीको हाफ–म्याराथनका लागि एक सयभन्दा बढी विदेशी खेलाडीले नाम दर्ता गराएका थिए । प्रतियोगितामा भारत, चीन, हङकङ, न्युजिल्यान्ड, अमेरिका, जर्मनी, दक्षिण कोरिया र स्वीडेनका धावक सहभागी हुने तय थियो । निग्रोधारामबाट सुरु भएर पुरातात्त्विक र ऐतिहासिक स्थल गोटिहवा, राजधानी तिलौराकोट, निग्लिहवा, अरौराकोट, दोहनी हुँदै लुम्बिनीस्थित मायादेवी बगैंचासम्म म्याराथन रुट तय गरिएको थियो । बुद्धस्थल शाक्य वंशीय राजधानी प्राचीन कपिलवस्तु (तिलौराकोट) र लुम्बिनीलाई अन्तर्राष्ट्रिय रूपमा चिनाउँदै पर्यटन प्रवर्द्धनका लागि म्याराथन प्रतियोगिता आयोजना गरिँदै आएको थियो ।

लुम्बिनीमा आयोजना गरिएको १४ दिने विश्व शान्ति पूजा पनि नहुले निश्चित भएको छ ।आइतबारदेखि लुम्बिनीमा सुरु हुने भनिएको अन्तर्राष्ट्रिय सुनइया ध्यान शिविर कार्यक्रम पनि स्थगित गरिएको छ । दुईदिने उक्त कार्यक्रममा हजारभन्दा बढी विदेशी सहभागी हुने कार्यक्रम रहेको आयोजक सदस्य बेलाल खाँले बताए । मलेसियाका डा. लिमको नेतृत्वमा भारत र भुटानबाट ठूलो संख्यामा विदेशी आउने तय थियो ।

साभार : कान्तिपुर