काठमाडौं,
२७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला दोस्रो पटक प्रत्यारोपण भएको आज एक साता भएको छ। गत बुधबार त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गरिएको छ। भाञ्जी समीक्षा संग्रौलाले दिएको मिर्गौलाको सफल प्रत्यारोपण भएपछि प्रधानमन्त्री ओली एक सातादेखि अस्पतालको आईसीयूमै छन्।
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण र उपचारबारे चिकित्सकहरुले मंगलबारै त्रिवि शिक्षण अस्पतालमा पत्रकारहरुसँग अन्तरक्रिया गरेका छन्। त्यसक्रममा प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहले अबको तीन दिन अर्थात् शुक्रबारसम्ममा प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज हुने जानकारी अन्तरक्रियाका क्रममा पत्रकारहरुलाई दिएकी छन्। ु
उनले डिस्चार्ज गर्ने समय भइसके पनि परिवारबाट केही समय अस्पतालमै निगरानीमा राख्न भनिएकाले थप दिन लम्बिएको बताइन्। प्रधानमन्त्री डिस्चार्ज गर्ने अवस्थामा पुगिसक्नु भएको छ। तर घरबाट अलिक समय अस्पतालमा राखेर उपचार गराउन आग्रह भएको छु, उनले भनिन्, त्यही आग्रह अनुसार हामीले केही दिन अस्पतालमै राख्ने निर्णय गरेका हौँ। तर प्रधानमन्त्रीले त डिस्चार्ज मागि रहनुभएको छ।