२०७७ मङ्सिर ९ गते मङ्गलवार
२०७७ मङ्सिर ९ गते मङ्गलवार

घोराहीमा अल्लोको मास्क उत्पादन सुरु

दाङ,
२८ फागुन ।
मेडिकेटेड मास्कको अभाव भएपछि दाङको लमहीमा पुनः प्रयोग गर्न सकिने मास्क बनाउन थालेका छन् । कोरोना भाइरसको सङ्क्रमण विश्वव्यापी भएसँगै दाङमा पनि मेडिकेटेड मास्कको अभाव हुन थालेपछि यहाँका विभिन्न निकायले पुनः प्रयोग गर्न सकिने मास्क बनाउन थालेका हुन् ।

लमहीमा साधारण सुती कपडाको मास्क बनाउन थालिएसँगै घोराहीमा अल्लोको मास्क बनाउन थालिएको छ । उत्पादकले यो मास्कलाई स्यानेटाइजर प्रयोग गरी दीर्घकालसम्म प्रयोग हुनसक्ने बताएको छ । अल्लोको मास्क निर्माण गरेर बजारमासमेत ल्याइएको छ । प्रतिमास्कको मूल्य रु ८० निर्धारण गरिएको छ ।

जिल्लाको बजारमा मास्कको अभाव भएको भन्दै स्थानीयस्तरमा समेत मास्कको उत्पादन थालिएको हो । यसले स्थानीयस्तरमा मास्कको अभाव नहुने मास्क उत्पादकले बताएका छन् । यसअघि बजारमा अधिकतम उपयोग हुने मास्क चीनमा निर्मित थियो । जसको अधिकतम मूल्य रु १० मात्र थियो । बजारमा अभाव चुलिएसँगै प्रतिमास्कको मूल्य रु २५ सम्म पुगेको थियो ।

बजारमा मास्कको अभाव भएपछि प्रादेशिक अस्पताल तुलसीपुर, राप्ती लाइफकेयर हस्पिटल तुलसीपुरलगायतका स्वास्थ्य संस्थाले स्थानीयस्तरमै निर्मित मास्क आन्तरिक प्रयोजनका लागि उपयोग गर्न थालेका छन् ।