तुलसीपुर,
२९ फागुन। दाङको तुलसीपुरमा प्याराग्लाईडिङ तथा अटोमोवाईल्स मेला सञ्चालन हुने भएको छ । आगामी चैत २८ गतेदेखि बैशाख ८ गतेसम्म मेला सञ्चालन हुने भएको हो । मेला आयोजक चन्द्रसुर्य यातायात प्रालिले आज बिहीवार तुलसीपुरमा पत्रकार सम्मेलन गरि त्यो जानकारी दिएको हो । प्रालिका अध्यक्ष अरुणकुमार श्रेष्ठले यो मेला प्रदेश ५ कै लागि नौलो हुने दाबी गरे ।
मेलामा मुख्य आकर्षकको रुपमा प्याराग्लाईडिङ ,हट एयर बेलुन, अल्ट्रा लाईट एयर फ्लाईट, प्रदेश स्तरीय गायन प्रतियोगिता, फू्ड फेस्टिबल, प्रत्येक दिन राष्ट्रिय स्तरका नयाँ कलाकारहरुबाट म्युजिक कन्सर्ट र कृर्षि जन्य बस्तु प्रर्दशनीमा राखिने अध्यक्ष श्रेष्ठले जानकारी दिए । प्रालिका कार्यालय प्रमुख जय पुनले मेलाबाट मुनाफा भएको रकम मध्ये पाँच प्रतिशत अपाङ्ग तथा अनाथ बालवालिकालाई सहयोग गरिने जानकारी दिएका छन् ।
मेलामा प्रदेश नं ५ को पहिचान झल्कने बस्तुहरुको प्रर्दशनी एवं बिक्रि, स्थानीय घरेलु उद्योगहरुबाट उत्पादित बस्तु तथा स्थानीय हस्तकला काठ, बाँस एवं माटोजन्य बस्तुहरुबाट बनेका बस्तुहरुको प्रर्दशर्नी,अटोमोवाइल्स लगाएतका सामाग्रीहरुका झन्डै १०० स्टलहरु प्रर्दशनीका लागि राखिने जानकारी दिइएको छ । करिब ४ लाख मानिसलाई अवलोकन गराउने र ३ करोड बढी आर्थिक कारोवार गर्ने लक्ष्यका साथ मेला लगाउने लागिएको आयोजकले जानकारी दिएको छ ।
मेलामा प्रवेश शुल्क १०० रुपैयाँ तोकिएको छ । जेष्ठ नागरिक, अपाङ्ग तथा विद्यार्थिलाई टिकटमा सहुलियत दिने भनिएपनि कति भन्ने निर्धारण गरिएको छैन ।