काठमाडौं,
२ चैत । पूर्व मिस नेपाल उषा खड्गी र सञ्चारकर्मी जीपी तिमिल्सिनाको वैवाहिक सम्बन्ध डिभोर्सको स्थितीमा पुगेको छ । केही समयदेखि यी दुईको वैवाहिक जीवनमा खटपट परेपछि दुबै डिभोर्सको स्थितीमा पुगेको हल्ला चलेको थियो । अब यसबारे उषा आफैंले मुख खोलेकी छिन् ।
उषाले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमार्फत् यसबारे जानकारी दिएकी छिन् । उषाले शनिबार राती फेसबुकमा लेखेकी छिन्, ‘यदि तपाईंले विवाहको १७ वर्षपछि पनि शारीरिक र मानसिक यातना सहनुपर्छ भने यसलाई निरन्तरता दिन कुनै आधार छैन । अब म भन्छु ‘नो’ ।’ यसअघि उषा र जीपी दुबैले डिभोर्सको चर्चा हल्ला मात्रै भएको बताएका थिए ।
उषा र जीपीको एक टेलिभिजन कार्यक्रमका लागि भेट भएको थियो । उनीहरुको चिनजान १९ वर्ष पुरानो हो । सन् २००० मा मिस नेपाल बन्नुअघि नै यी दुई प्रेममा थिए । यी दुईको अन्तरजातीय विवाह हो । यो जोडीको एक छोरा र एक छोरी छन् ।