बाँके,
३ चैत । भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि कामका लागि भारत गएका नेपाली स्वदेश फर्किन थालेका छन्। एक हप्तादेखि नेपाल फर्किनेको संख्यामा वृद्धि भएको इलाका प्रहरी कार्यालय, जमुनहाका प्रमुख प्रहरी नायव निरीक्षक माधवप्रसाद रिजालले बताए।
उनले १ चैतमा एक सय १९ जना पुरुष र ३६ महिला गरि एक सय ५५ जना स्वदेश फर्किएकोमा २ चैतमा तीन सय ४९ पुरुष र एक सय २५ महिला नेपाल फर्किएको बताए। यसअघि दैनिक एक सयको हाराहारीमा नेपाल फर्किने गरेको जमुनहा प्रहरीको तथ्यांकमा उल्लेख छ। कामका लागि भारत गएका नेपाली फर्किने क्रम बढे पनि कामका लागि भारत जाने र किनमेलका लागि सीमाबर्ती रुपइडिहा जानेको संख्या ह्वात्तै घटेको छ।
भारतमा कोरोना भाइरसको संक्रमण बढेपछि किनमेलका लागि भारत जानेको संख्यामा समेत कमी आएको प्रहरीले जनाएको छ। किनमेलका लागि भारत जानेको संख्यामा कमी आएपछि जमुनाह नाका सुनसान भएको छ।