दाङ,
३ चैत । प्रदेश ५ को रिक्त प्रदेशसभा सदस्य पदमा शंकर गिरी चयन भएका छन् । नेपाली कांग्रेसको सिफारिसमा गिरी प्रदेशसभा सदस्य नियुक्त भएका हुन् ।
करिब ५ दशकदेखि राजनीतिमा होमिएका गिरी दाङ कांग्रेसका पुराना र सक्रिय नेता हुन् । उनलाइ वीपीको समाजवाद र दर्शनका अनुयायी, कुशल राजनीतिज्ञ भनेरसमेत चिनिन्छ । उनले २०२७ साल पुस १ गते १६ वर्षको कलिलो उमेरमा तत्कालीन राप्ती अञ्चलाधीश कार्यालयको गेटमा कालो झण्डा गाडेर सक्रिय राजनीति सुरु गरेका थिए ।
गिरी कांग्रेसको सशस्त्र संघर्षको क्रममा २०३१ सालमा पेस्तोल काण्डमा नेपालगन्जमा होस् या २०३८ सालको आमनिर्वाचन वहिष्कार गर्दा या २०४२ सालको सत्याग्रहका बेला उनी दाङमा जेल परेका थिए । नेपालगन्जदेखि दाङमा पटकपटक गरी गिरफ्तार, हिरासत तथा नजरवन्दमा परेका गिरी पटक पटक पार्टीको आन्तरिक गुटबन्दीको शिकार भएका थिए ।
वीपी कोइरालाद्वारा अनुमोदित २०३६ को जनमत संग्रहमा बहुदल प्रचार समिति नेपाली कांग्रेस दाङको सचिव भएका गिरी २०४० सालमै राप्ती अञ्चल केन्द्रीय सम्पर्क समितिको सदस्य भएका थिए । उनले पार्टीको नवौं, दशौं, एघारौं, बाह्रौं र १३औं महाधिवेशनमा प्रतिनिधित्व गरेका थिए ।
पार्टीको ८औं महाधिवेशनमा उनी दाङको तत्कालीन क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापतिमा १ मतले पराजित भएका थिए भने १२औं महाधिनेशनमा नेपाली कांग्रेस दाङको सभापतिमा उम्मेद्वारी दिएका थिए । दोश्रो चरणको निर्वाचनमा उनी पराजित भए ।
आगरा विश्वविद्यालयबाट इतिहास र राजनीतिशास्त्रमा स्नातक गरेका गिरी २०४० देखि २०४९ सम्म अमर माध्यमिक विद्यालय उरहरीमा प्रधानाध्यापक भइ सक्रिय शैक्षिक नेतृत्व समेत गरेका थिए । २०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागिता जनाएका गिरी २०५९ पछिको हरेक आन्दोलनमा नेतृत्वदायी भूमिकामा रहेका छन् ।