बुटवल,
४ चैत्र । लुम्विनी प्रादेशिक अस्पतालको गूरुयोजना प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । सोमबार आयोजित कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष प्रा.डा. ईश्वर गौतमले हस्तान्तरण गरे ।
प्रदेश सरकारले प्रदेश योजना आयोगलाई अस्पतालको गुरुयोजना बनाउन जिम्मेवारी दिएपछि ईन्जिनियर बिष्णु पन्थीले तयार गरेका हुन । हस्तान्तरण गरिएको गुरुयोजनाले यस क्षेत्रका नागरीकको पहुंचको रुपमा रहेको लुम्बिनी प्रादेशिक अस्पताललाई सुविधा सम्पन्न र अत्याधुनिक भौतिक संरचना सहितको अस्पतालको रुपमा तयार हुने छ । अस्पतालको गुरुयोजनामा कार्यान्वयन हुदा लुम्विनी प्रादेशिक अस्पताल विशेषज्ञ सेवा सहितको अत्याधुनीक र सुबिधा सम्पन्न बन्ने छ ।
अस्पतालको नयाँ बन्ने १० तले भवनको प्रारम्भिक डिजाईन प्रस्तुत गर्दै ईन्जिनीयर बिष्णु पन्थीले लुम्बिनी प्रादेशिक अस्पताललाई १२ सय शैयाको अत्याधुनिक सुविधा सहितको अस्पताल बनाउने योजना सुनाए । अस्पतालको गुरुयोजना कार्यान्वयन गर्न बाधा भएपछि प्रदेश सरकारले माघको अन्तिम साता अस्पतालका सटरहरु भत्काएको थियो ।
अस्पताल परिषरमा सुन्दर बगैचा र पश्चिमतर्फ पर्ने कालिकापथमा समेत २ वटा प्रवेशद्धार रहने गरी गुरुयोजना तयार गरीएको छ । नया अस्पताल निर्माणका समयमा भने सेवा प्रवाहमा असर पर्ने छैन । गुरुयोजना अनुसार भुमीगत २ तला सहित दशौं तलाको अस्पतालको मुख्य भवनमा सात सय शैया हुनेछन् भने प्रशुती तथा बाल वार्ड, क्यान्सर वार्ड लगायत ५ सय सैया गरी १२ सय शैया हुने गरी प्रस्ताव गरीएको छ ।
गूरुयोजनामा करीव २ अर्ब लागतमा चिकित्सक आवास तथा अस्पतालको उत्तर तर्फको जग्गामा ३ अर्वको लागतमा ब्यवसायीक भवन बनाउने गरि गुरुयोजना तयार भएको छ । मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सरकार लुम्बिनी प्रादेशिक अस्पतालको जग्गामा बनेका संरचना खाली गराउदा ब्यवसायीहरुले अवरोध गरेको तर्फ संकेत गर्दै अस्पताललाई अत्याधुनिक सुविधा सम्पन्न बनाउन लागेको भन्ने नबुझ्दा समस्या उत्पन्न भएको बताए ।