दाङ,
४ चैत । माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालनका लागि दाङमा ४५ परीक्षा केन्द्र तोकिएको छ । परीक्षा आगामी चैत ६ गतेदेखि सञ्चालन हुँदैछ । परीक्षामा जिल्लाका २ सय १२ विद्यालयका करिब १२ हजारभन्दा बढी विद्यार्थीहरू सहभागी हुँदैछन् । एसईई परीक्षा सञ्चालनका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्ड घोराही दाङले जानकारी दिएको छ ।
परीक्षामा निजी विद्यालयबाट १ सय १२ वटा र सामुदायिक तर्फका १ सय वटा विद्यालयबाट १२ हजार ७ सय ८१ जना विद्यार्थीहरू सहभागी हुँदैछन् । जसमध्ये ६ हजार ८ सय छात्रा रहेका छन् । ५ हजार ९ सय ८१ छात्र परीक्षार्थीहरू रहेका छन् । परीक्षामा नियमिततर्फ ५ हजार ६ सय ७६ छात्र र ६ हजार ४ सय ३८ छात्रा गरी जम्मा १२ हजार १ सय १४ परीक्षार्थीहरू रहेका छन् ।
त्यसैगरी ग्रेड वृद्धितर्फ १ सय ३३ जना छात्र र १ सय ७१ गरी जम्मा ३ सय ४ जना परीक्षार्थीहरू परीक्षामा सहभागी हुँदैछन् । त्यस्तै प्राविधिकतर्फको परीक्षामा १ सय ५१ छात्र र १ सय ४१ छात्रा गरी २ सय ९२ जना विद्यार्थीहरूले एसईई परीक्षा दिन लागेको छन् । परीक्षालाई व्यवस्थित र मर्यादित बनाउनका लागि सुरक्षा व्यवस्था, प्रश्नपत्रको व्यवस्थापन, उत्तरपुस्तिका व्यवस्थापन लगायत आवश्यक परीक्षा सामाग्रीहरू समेत तयारी अवस्थामा रहेको र प्रश्नपत्र सम्बन्धित परीक्षा केन्द्र नजिकैको प्रहरी प्रशासनलाई जिम्मा दिइसकेको छ ।