बाँके,
४ चैत । नेपालबाट भारतका विभिन्न स्थानमा संचालन हुने लामो दूरीका सार्वजनिक यातायात सेवा बन्द भएको छ। भारतको विभिन्न स्थानमा कोरोना भाइरस (कोडिभ–१९) संक्रमित व्यक्ति फेला परेपछि स्थानीय प्रशासनले नेपाल र भारतबाट संचालन हुने लामो दूरीका सार्वजनिक यातायातका साधनमा प्रतिबन्ध लगाएको हो।
गृह मन्त्रालयले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई लामो दूरीका सवारी साधन संचालनमा रोक लगाउन परिपत्र गरेपछि सोहीबमोजिम भारतबाट आउने र नेपालबाट जाने सार्वजनिक यातायातका सवारी साधन सीमामै रोकिने भएका हुन्। विश्वव्यापी रूपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमण दुवै देशमा फैलिन नदिन दुवै देशबाट संचालन लामो दूरीका सार्वजनिक सवारी साधन संचालनमा रोक लगाएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए।
गृह मन्त्रालयको परिपत्रसँगै स्थानीय प्रशासनले नेपाल–भारत मैत्री बस लगायत लामो दूरीमा संचालन हुने सार्वजनिक सवारी साधनमा रोक लगाएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीले बताए। उनले मंगलबार दिउँसो १२ बजेदेखि नै नेपालबाट भारतका विभिन्न स्थानमा संचालन हुने लामो दूरीका सार्वजनिक सवारी साधन संचालनमा रोक लगाएको बताए।