बालकृष्ण पाण्डे,
हापुरे ५ चैत । दाङको बबई गाउँपालिकाले कर्णाली प्रदेशसंग सिमाना जोडिएको नाकामा आज बुधवार देखि हेल्थ डेस्क स्थापना गरेको छ । दाङबाट सुर्खेत जानका लागि दाङ सुर्खेत सडक खण्ड सहज भएकाले पनि कर्णाली प्रदेशबाट सल्यानको कालिमाटी हुँदै बबई गाउँपालिकामा प्रवेश गर्नेहरुलाई कोरोनाको चेक जाँच गर्ने उद्देश्यले हेल्थ डेस्कको स्थापना गरिएको बबई गाउँपालीकाले जनाएको छ ।
बबई गाउँपालीका वडा नं २ विसौनी डाडाँमा कोरोना भाईरस रोकथामको लागी हेल्थ डेस्क स्थापना संगै चेकजाच सुरु गरिएको हो । स्वास्थ साहायता केन्द्रमा ४ जना स्वास्थ्यकर्मी खटाईएको छ । स्वाथ्यकर्मी हेमराज वली, मिना वली, गीता केसी र अरुण केसी सहितको टोली खटाईएको बबई गाउँपालिकाका स्वास्थ शाखा प्रमुख हरी बहादुर खड्काले जानकारी दिए ।
सहायता कक्षमा ज्वरो आएको तथा रुगाखोकी लागेको व्यतिलाई औषधीको व्यवस्था गरिएको छ । साथै जटिल अवस्थाका विरामी आएमा जिल्ला अस्पतालसम्म पुर्याउनको लागी बबई गाउँपालिकाको एम्वुलेन्स साहायता केन्द्रमा राखिएको छ । हेल्थ डेस्क संचालनको लागि बबई गाउँपालीकाले सबै प्रकारको सहयोग उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष भुबनेश्वर पौडेलले जानकारी दिए ।
तत्कालका लागि सबै सुविधा उपलव्ध गराएको बताउदै अध्यक्ष पौडेलले आवश्यक थप सामाग्री पनि उपलव्ध गराउने बताए । हेल्थ डेस्क व्यवस्थापनको लागि बबई गाउँपालिका वडा नं. ३ का अध्यक्ष नन्दलाल वलीको संयोजकत्वमा समिति पनि बनाईएको छ ।
बबई गाउँपालीका स्वास्थ शाखाको आयोजनामा हेल्थ डेस्कको स्थापना गरिएको हो । हेल्थ डेस्कमा विहान ६ बजे देखी बेलुका ६ बजे सम्म स्वाथ्यकर्मी खटिने र चेकजाँच गर्ने बताइएको छ ।