शान्तिनगर,
८ चैत । पश्चिम दाङको शान्तिनगर गाउँपालिका वडा नं. ५ को बैंसामा सभाहलको शिलन्यास गरिएको छ । सभाहल निर्माण हुने चर्चा चलेको लामो समय भएपछि शिलन्यास भएको हो ।
सभाहलको शिलन्यास शान्तिनगर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नर बहादुर विक र वडा ५ वडा अध्यक्ष गिरीराज बस्नेतले संयुक्त रूपमा गर्नुभएको हो । ५ नं प्रदेश सरकारको एक करोड असी लाख आर्थिक सहयोगमा सभाहल निर्माण हुन लागेको हो । सभाहल निर्माण भएपछि शान्तिनगरको माथिल्लो भेगमा केन्द्रित कार्यक्रम तल्लो भेगमा पनि हुने अपेक्षा लिइएको छ ।
गाउँपालिकाको कार्यालय पायक पर्ने ठाउँमा नहुँदा साविक धनौरीबासीहरूले सहज र सरल तरिकाले सेवा नपाएको गुनासो गर्दै आएका छन् । जनतालाई शान्तिनगर गाउँपालिकाको कार्यालय चिराघाट जान आउन निकै समस्या पर्दै आएको वडा नं ५ वडा अध्यक्ष गिरीराज बस्नेतले बताउनुभयो । गाउँपालिका जान आउन यातायाताको सहज सुविधा नहुँदा सामान्य कामका अटो रिजर्भ गरि महङ्गो भाडा तिर्नुपर्ने बाध्यता रहेको वडा अध्यक्ष बस्नेत बताउनुभयो।
सभाहल निर्माण भएपछि केहि मात्रामा भएपनि सहजता हुने यहाँका जनताले अपेक्षा लिएका छन । सभाहल आउँदो २०७७ साल मंसिर महिना सम्म निर्माण गर्ने लक्ष्य लिइएको छ ।