रगैंजा,
८ चैत । शान्तिनगर गाउँपालिका वडा ५ को वडा कार्यालयले कोरोना भाइरसबाट उच्च सतर्कता अपनाउन आजदेखि निःशुल्क मास्क वितरण सुरू गरेको छ।
‘विश्वभरी महामारीका रूपमा फैलिएको कोरोना भाइरसबाट बच्न सफासँग साबुनले हात धोऔं, मास्क प्रयोग गरौँ, कोरोना भाइरसबाट आफूपनि बचौँ र अरूलाई पनि बचाऔं’ भन्ने मुल नाराका साथ निशुल्क मास्क वितरण सुरू गरिएको वडा अध्यक्ष गिरिराज बस्नेतले जानकारी दिएका छन् । स्थानिय स्तरमै मास्क तयार गरेर सम्पूर्ण वडाबासीहरूलाई पुग्ने गरि माक्स वितरण गर्न सुरू गरीएको वडा अध्यक्ष बस्नेतले बताए ।
वडाको आर्थिक सहयोग तथा राज सटिङ सुटिङ टेलरिङको आयोजनामा सञ्चालित कटाई सिलाईमा सहभागीहरूले तयार पारेको मास्क वितरण गरिएको हो । आज नजिकका टोलबासीलाई वितरण गरिएको र भोलि देखि अन्य टोलबासीलाई पनि वितरण गरिने बताइएको छ । शान्तिनगर गाउँपालिका वडा नं ५ का रगैंजा, बैंसा, ढोरेनी, बाघढोई, रजघटुवा र काँसिपुरका सवैलाई पुग्ने गरि करिव ३२ सय जनालाई मास्क वितरण गर्ने लक्ष्य रहेको वडा अध्यक्ष बस्नेतले बताएका छन् ।