काठमाडौं,
९ चैत । कोरोना भाइरसको जोखिमका कारण मुलुकभर अत्यावश्यकबाहेक सबै सेवा आजबाट बन्द गरिएको छ ।
सरकारले संघ, प्रदेश र स्थानीय तहमा रहेका सार्वजनिक, सामुदायिक र निजी क्षेत्रले प्रदान गर्ने सेवा चैत २१ गतेसम्मका लागि बन्द गरिएको हो । अस्तालहरुमा बहिरंग सेवा बन्द नहुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपाल भित्रने सबै अन्तर्राष्ट्रिय उडानहरू पनि आज रातिबाट चैत्र १८ गतेसम्म स्थगित गरिएका छन् ।
लामो दूरीका यात्रुवाहक बसलाई भोलिदेखि केही अवधिका लागि रोक लगाइएको छ । अत्यावश्यक बाहेकका क्षेत्रमा रोक लगाएको घोषणा गरेपछि काठमाडौं उपत्यकाको आवागमनमा निकै कमी आएको छ । एघार दिन लामो बिदा घोषणा गरेपछि राजधानी बस्दै आएका तीन लाख भन्दा बढी मानिस घर फर्किसकेका छन् । सरकारी कर्मचारी र अत्यावश्यक क्षेत्रमा खटिने निजी क्षेत्रका कर्मचारीहरूले भने नियमित सेवा प्रदान गर्ने बताइएको छ । सरकारले आजवाट भीडभाड नियन्त्रण र कालोबजारी अन्त्य गर्न विशेष टोली परिचालन हुने जनाएको छ ।
बन्द नहुने सेवाहरुमा डाँक, तार वा टेलिफोन, सञ्चार, यातायात, प्रिन्ट वा सरकारी छापा, रक्षा आन्तरिक सुरक्षा छन । त्यस्तै पेट्रोलियम पदार्थको ढुवानी पैठारी, भण्डारण र वितरण, खानेपानी संचालन तथा वितरण, अस्पताल, फोहरमैला संकलन, विद्युत र दैनिक उपभोग्य बस्तुसम्बन्धी सेवा पनि रोकिने छैन । मानिसहरुको भीडभाड हुने स्थान, सिनेमा घर, शैक्षिक संस्थाहरु भने यसअघि नै बन्द गर्न सरकारले निर्देशन दिएको छ ।