दाङ,
९ चैत । कोरोनाको आशंका गरिएका दाङका तीन जनाको स्याम्पल जाँचका लागि काठ्माण्डौ पठाइएको छ । कोरोनाको आशंकामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेशमा बसेका तीन जनाको स्याम्पल आज काठ्माण्डौ पठाइएको हो ।
कोरोनाको जाँच गर्ने किट काठ्माण्डौको टेकुमा रहेको शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पतालमा मात्रै भएकाले दाङबाट तीन जनाको स्याम्पल पठाएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायम मुकायम रजिष्ट्रार कैलाश देवले जानकारी दिनुभयो ।
शुक्रबार एक युवामा उच्च ज्वरो देखिएपनि स्याम्पल पठाउने सामाग्रि (भाइरल ट्रान्सपोर्ट मिडिया) नहुँदा ढिलाई भएको थियो । स्याम्पल लैजाने डाक्टर आएपछि आज थप दुई जना गरी तीन जनाको स्याम्पल पठाएको उहाँले बताउनुभयो । स्याम्पल पठाउनका लागि प्रदेश नम्बर पाँचको सरकारले शनिबारमात्रै दुई जनालाई प्रतिष्ठानमा पठाएको हो ।