२०७९ चैत्र १ गते बुधवार
२०७९ चैत्र १ गते बुधवार

आजदेखि एक जिल्लाबाट अर्को जिल्लामा गाडी चलाउन रोक

काठमाण्डौं,
१० चैत ।
सरकारले आजदेखि लामो दूरीका सार्वजनिक गाडी चलाउन रोक लगाएको छ । काठमाण्डौ उपत्यकाबाहेक अरु ठाउँमा एक जिल्लाबाट अर्को जिल्लामा गाडी चलाउन नपाइने सरकारले जनाएको छ । आजदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि एक जिल्लाबाट अर्को जिल्लामा गाडी चलाउन नपाइने यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागका महानिर्देशक गोगन हमालले आजदेखि काठमाण्डौ, ललितपुर र भक्तपुरभित्र गाडी ओहोर दोहोर गर्न पाइने भए पनि काठमाण्डौ बाहिरका सबै ठाउँमा भने एक जिल्लाबाट अर्को जिल्लामा जान नपाउने बताउनुभयो । यो नियम उपत्यकाका तीन सहरबाहेक सबैतिर लागू हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘अब पाँचथरबाट ताप्लेजुङ अनि हुम्लाबाट जुम्लासम्म पनि जान रोकिनेछ । यसको अर्थ सीमा जोडिएका जिल्लामा पनि केही समयमा लागि गाडी चलाउन पाइने छैन ।’

महानिर्देशक हमालकाअनुसार सरकारले यात्रु ओसार्ने सार्वजनिक, निजी र भाडाका चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सबै यातायातका साधनमा यो नियम लागू हुनेछ । तर यो बेलामा पनि एम्बुलेन्स, पानी, औषधि, दूधलगायतका अत्यावश्यक सेवाका गाडी भने चल्न पाउने उहाँले बताउनुभयो ।