२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

आजदेखि भारत र चीनतर्फको सीमा नाका बन्द

काठमाडौं,
१० चैत
। सरकारले भारत र चीनतर्फका सबै सीमा नाकामा आजदेखि यात्रु आवागमन एक सातासम्म रोक्ने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले चैत १० गते आज विहान १० बजेबाट एक साता अर्थात १६ गतेसम्म सबै अन्तर्राष्ट्रिय नाकाबाट यात्रु आवागमन स्थगित गर्ने निर्णय गरेको हो । तर सामान आयात निर्यात भने रोकिने छैन ।

भारतमा कोरोनाको संक्रमण देखिएपछि नेपालले सीमा नाका बन्द गर्ने प्रस्ताव राखेको थियो । तर भारतले ठोस जवाफ नदिँदा निर्णय हुन सकेको थिएन । यही बेला रोजगारी तथा अध्ययनका लागि भारत गएका हजारौं नेपाली फर्किएका छन् । यसले कोरोनाको संक्रमण फैलिने जोखिम बढेपछि शनिबार बसेको कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बैठकमा मन्त्रीहरुले नै भारत सहमत नभए एकतर्फी रुपमै भए पनि सीमा नाका बन्द गर्नुपर्नेमा जोड दिएका थिए ।

भारतले पनि आइतबार मध्यरातिबाट लागू हुने गरी अन्तरप्रदेश बस सेवा र रेल सेवा बन्द गर्ने निर्णय गरेको छ । लगतै नेपाल सरकारले पनि एक साताका लागि चीन र भारततर्फका सबै सीमा नाका बन्द गर्ने निर्णय गरेको हो । लामो समयसम्म रोक्नुपर्ने अवस्था आएमा द्वीपक्षीय वार्ताबाट निर्णयमा पुगिने बताइएको छ ।