२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

बुटवलमा ४८ बेडको कोरोना विशेष अस्थायी अस्पताल स्थापना

बुटवल,
१० चैत ।
बुटवलमा कोरोना विशेष अस्थायी अस्पताल स्थापना गरिएको छ । कोरोना संक्रमण भएका र आशंका गरिएका बिरामीलाई निगरानीमा राखेर उपचार गर्न अस्थायी अस्पताल स्थापना गरिएको हो ।

लुम्बिनी प्रादेशिक अस्पतालको सहयोगमा बुटवल उपमहानगरपालिकाले अस्पताल बनाएको हो । रामनगरस्थित बन्द अवस्थामा रहेको बुटवल धागो कारखानाका दुई हलमा अस्पतालको संरचना छ । त्यसमा ४८ बेड छन् । सुरुमा १ सय बेड राख्ने तयारी गरिएको थियो । बेडको दूरी कम्तीमा ३ फिट टाढा राख्नुपर्ने भएपछि ४८ बेडमात्र राखिएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरीटेण्ट डा. राजेन्द्र खनालले बताए ।

अस्पतालको बाहिर निगरानी कक्ष छ । त्यसबाहिर एक्कासी धेरै बिरामी आए राख्न मिल्नेगरी बेड राखिएको छ । छेउमा कार्यालय बनाइएको छ । अस्पताल अगाडि बिरामीले प्रयोग गर्नुपर्ने टवेल, सावुन, भाँडाकुँडा ल्याइएका छन् । उनीहरुलाई खुवाउन चमेना गृह बनाइँदै छ । पानी महिला पुरुषका लागि छुट्टाछुट्टै वाथरुम छन् । केही पर २० वटा अस्थायी शौचालय बनाइएको छ । शौचालय लुम्बिनी निर्माण व्यवसायी संघले बनाइदिएको हो ।

प्रदेश ५ मा आइतबारसम्म कोरोना आशंका गरिएका १३ बिरामी अस्पताल आएका छन् । त्यसमध्ये ९ जनामा नेगेटिभ भेटिएको छ । कोरोना आशंकाका बिरामीलाई उपचार गर्न प्रदेश सरकारले यसबाहेक ५ स्थानमा कोरोना आइसोलेसन विशेष अस्पताल बनाउने निर्णय गरेको छ । त्यसमध्ये भीम अस्पताल भैरहवा, दाङको बेलझुण्डीमा रहेको आयुर्वेद अस्पताल र बाकेको अर्बुद रोग अस्पतालमा ३० बेडका आईसीयुसहितका अस्पतालका प्रारम्भिक संरचना बनाउन सुरु गरिएको सामाजिक विकासमन्त्री सुदर्शन बरालले बताए ।