बुटवल,
१० चैत । प्रदेश ५ सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रण कोष स्थापना गर्ने भएको छ । आज सोमबार बसेको प्रदेश सरकारको बैठकले भाइरस संक्रमण नियन्त्रणका लागि कोष स्थापना गर्ने निर्णय गर्दै कोषमा सरकारका मुख्यमन्त्री शंकर पोख्रेल लगायत मन्त्रीहरुको एक महिनाको तलव कोषमा राख्ने घोषणा गरिएको छ ।
यसैगरी बैठकले कोरोना भाइरस नियन्त्रण, प्रतिकार्य र रोकथामका लागि आइसोलेशन अस्पताल निर्माण, सञ्चालन र व्यवस्थापन गर्न मन्त्रीहरु संयोजक रहेको व्यवस्थापन समिति गठन गरिएको छ ।
जसअनुसार दाङको केन्द्रीय आयुर्वेद विद्यापीठ बेलझुण्डीका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रीको संयोजकत्वमा घोराही उपमहानरपालिकाका प्रमुख नरुलाल चौधरी, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे, प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति संगीता भण्डारी, जिल्ला जनस्वास्थ्य कार्यालय दाङकी प्रमुख सुनिता पौडेल, आयुर्वेद अध्ययन संस्थान नेपाल संस्कृत विश्वविद्यालय सदस्य रहनुभएको छ भने राप्ती प्रादेशिक अस्पतालका प्रमुख सदस्य सचिव चयन हुनु भएको छ ।
जनशक्तिको सूची तयार गरी जनशक्ति व्यवस्थापन गर्ने र अस्पताल सञ्चालनका क्रममा आवश्यक निजी तथा सामुदायिक अस्पताल र मेडिकल कलेजहरुसंग सहयोग माग्नेछन । मन्त्रिपरिषदको बैठकले हरेक आइसोलेसन अस्पताल निर्माणका लागि निर्माण, सञ्चालन र व्यवस्थापन समितिको सदस्य सचिव कार्यरत रहेको कार्यालयमा नियमानुसार खर्च गर्ने गरी एक करोड रुपैंयाका दरले उपलब्ध गराउने निर्णय गरेको छ ।