२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

कोरोनाबाट मृत्यु हुनेको संख्या १६ हजार बढी

एजेन्सी,
११ चैत ।
कोभिड १९ अर्थात कोरोना भाइरसको संक्रमणका कारण हिजो एकै दिन १८ सय ५४ जनाको मृत्यु भएको छ। यो सँगै विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १६ हजार ४ सय ९५ पुगेको छ।

सबैभन्दा धेरै इटलीमा हिजो ६ सय १ जनाको मृत्यु भएको छ। यो सँगै त्यहाँ मृत्यु हुनेको संख्या ६ हजार ७७ पुगेको छ। हिजो ४ हजार ७ सय ८९ जना नयाँ संक्रमित भेटिएपछि इटलीमा संक्रमितको संख्या झण्डै ६४ हजार पुगेको छ। स्पेनमा हिजो एकै दिन ५ सय ३९ जनाको मृत्यु भएको छ। ६ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। अमेरिकामा हिजो १ सय ३२ जनाको मृत्यु भएको छ भने झण्डै १० हजार नयाँ विरामी भेटिएपछि संक्रमितको संख्या ४३ हजार ४ सय ६९ पुगेको छ।

फ्रान्समा हिजो १ सय ८६, इरानमा १ सय २७, बेलायतमा ५४, नेदरल्याण्ड्समा ३४, जर्मनीमा २९ र स्वीट्जरल्याण्डमा २२ जनाको मृत्यु भएको छ। विश्वभर कोरोना संक्रमितको संख्या ३ लाख ७८ हजार नाघेको छ। जसमध्ये १ लाख भन्दा धेरै मानिस उपचार पछि निको भएर घर फर्किएका छन्।