२०७८ असार ४ गते शुक्रवार
२०७८ असार ४ गते शुक्रवार

चीनमा नयाँ भाइरस ‘हान्ता’बाट एकको मृत्यु

काठमाडौं,
११ चैत ।
विश्व अहिले कोरोना भाइरसको माहामारीमा छ । ३ लाख ७८ हजारभन्दा बढी संक्रमित भएका छन् भने १६ हजार ८ सय बढीको ज्यान गएको छ ।

३१ डिसेम्बरमा पहिलो पटक कोरोना संक्रमण देखिएको चीनको वुहान भने यसबाट मुक्त हुने चरणमा छ । तर चीनमै अर्को भाइरसको संक्रमण देखिएको छ । ग्लोबल टाइम्सका अनुसार युनान प्रान्तमा देखा परेको यो नयाँ भाइरसका कारण २३ मार्चमा एक जनाको ज्यान गएको छ । मृतक ३२ वर्षका थिए र परीक्षणका क्रममा हान्ता भाइरस संक्रमणको पुष्टि भएको थियो । कामका लागि सानडोङ प्रान्त पुगेका उनी चार्टर वसबाट सोमबार मात्र फर्किएका थिए । बसमा सवार अन्य ३२ जनाको परी परीक्षण गरिएको छ ।

सीडीसीको रिपोर्टअनुसार यो भाइरस मुसाबाट फैलिन्छ । यदि कुनै व्यक्तिले मुसाको मलमूत्र वा र्याल छोएपछि अनुहारमा हात लगियो भने संक्रमित हुने खतरा रहन्छ । तर हान्ता भाइरस एक व्यक्तिबाट अर्कोमा सर्दैन । साथै संक्रमण भए नभएको पत्ता लगाउन एकदेखि आठ सातासम्म समय लाग्न सक्छ । यदि कोही व्यक्ति संक्रमित भयो भने ज्वरो, रुघा, वान्ता हुने जस्ता लक्षण देखिनेछ र, संक्रमित व्यक्तिको स्वास्थ्य बिग्रिएमा फोक्सोमा पानी जम्मा हुने, श्वास प्रश्वासमा कठिनाइ आउने हुन्छ ।

जनवरी २०१९ मा हान्ता भाइरसका कारण पाटागोनियामा ९ जनाको मृत्यु भएको थियो । त्यसबेला ६० जनामा संक्रमण भएको र उनीहरु मध्ये ५० जनालाई क्वारेन्टाइनमा राखिएको थियो ।