दाङ,
१२ चैत । विश्वव्यापी रूपमा महामारीका रूपमा फैलिएको कोरोना भाइरसबाट बच्न नियमित मास्क प्रयोग गर्नुपर्ने बाध्यता उत्पन्न भएपछि जिल्लाका सिलाई व्यवसायीहरूलाई मास्क उत्पादन गर्न भ्याइ नभ्याई भएको छ ।
विभिन्न नगरपालिका, गाउँपालिका, वडा कार्यालय, तथा विभिन्न संघ संस्थाहरूले मास्क माग बढाउँदै गएकाले मास्क उत्पादनमा भ्यान नभ्याई भएको सिलाई तथा कपडा व्यवसायी संघ शान्तिनगरका अध्यक्ष राजेन्द्र परियारले बताए । विभिन्न सिलाई व्यवसायीहरूले मास्क उत्पादनको काम गरिरहेको अध्यक्ष परियारले बताउनु भयो । विभिन्न वडाहरूका लागि आफूले पनि मास्क उत्पादन गरिरहेको उनले बताए ।
शान्तिनगर ५ वडाको लागि ३३ सय मास्क उत्पादन गरेको र वडा नं १ का लागि ४ हजार मास्क उत्पादन गर्न थालेको उनले बताए । मास्क उत्पादनमा आवश्यक सामानको अभाव हुँदा मास्क उत्पादनमा अप्ठेरो परेको परियारको भनाई छ ।
५ नं वडाले उच्च सतर्कता साथ आज ३३ सय मास्क वितरण गरिसकेको वडा अध्यक्ष गिरीराज बस्नेतले बताए । यस्तै वडा नं १ ले माक्स उत्पादनका लागि अर्डर गरेको छ । मास्क बनिसकेपछि वडाबासीलाई पुग्ने गरी ४ हजार मास्क वितरण गरिने वडा अध्यक्ष जंग बहादुर पुनले बताए । वडाबासीलाई कोरोना भाइरसबाट उच्च सतर्कता अपनाउन सचेतनामुलक माइकिङ गरिरहेको पनि उनले बताए ।