दाङ,
१२ चैत । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि नेपाल सरकारले मंगलवार विहान देखि लकडाउन गरेपछि दानाको अभावमा कुखुरा पालनमा समस्या उत्पन्न भएको छ ।
कुखुरापालनमा समस्या आएको भन्दै उचित राहत सहित कुखुरा डिस्पोज गरिदिन सम्वन्धित निकायलाई कुखुरापालकहरूले आग्रह गरेका छन् । दाना अभावमा कुखुरापालन गर्न नसकिने र कुखुरा मरेपछि प्रदुषण बढ्ने भएकाले कुखुरा डिस्पोज गरिदिन कुखुरापालकहरूले यस्तो माग गरेका हुन ।
दाना लिन पनि नसकिने र उत्पादित कुखुरा र अण्डा निकासी गर्न नसकिने अवस्था भएकाले समयै उचित राहत सहित कुखुरा डिस्पोज गरिदिन पश्चिम दाङ कुखुरा तथा अण्डा व्यवसाय समूहका सचिव लोराज भुषाले बताउनुभयो । कारोना भाइरसको महामारीमा यो जटिल अवस्थामा आ–आफ्नो ज्यानको सुरक्षा लिन कठिन भएकाले कुखुराको सुरक्षा तथा दाना पुर्याउन अत्यन्त कठिनाई भएकाले स्थानिय सरकार तथा जिल्ला प्रशासन कार्यालय दाङलाई समयमै कुखुरा डिस्पोज गरि कुखुरा मरेपछि उत्पन्न हुने प्रदुषणबाट बचाईदिन सचिव भुषालले माग गरेका छन् ।