बुटवल,
१२ चैत । प्रदेश ५ सरकारले कोरोना संक्रमित बिरामीको उपचारमा सरकारलाई सहयोग नगर्ने निजी तथा सामुदायिक अस्पताल र मेडिकल कलेजहरुलाई कारबाही गर्ने भएको छ ।
कोरोना नियन्त्रण र प्रतिकार्यमा निजी तथा सामुदायिक अस्पताल र मेडिकल कलेजहरुलाइलाई सक्रिय बनाइने र सहयोग नगर्ने संघसंस्थाहरुको विवरण तयार गरी आवश्यक कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ । निजी तथा सामुदायिक अस्पताल र मेडिकल कलेजहरुलाई कोरोनाको नियन्त्रण र उपचारमा सक्रिय बनाउने र सहयोग नगरेमा कारबाही गर्ने जिम्मेवारी सामाजिक विकास मन्त्रालयलाई दिइएको छ ।
कोरोना भाइरस संक्रमणको लक्षणसँग मिल्दोजुल्दो लक्षण भएका बिरामीहरु निजी तथा सामुदायिक अस्पताल मेडिकल कलेज जाँदा उनीहरुले भर्ना नै नलिँदा बिरामीहरुले सास्ती खेप्नुपरेपछि सरकारले कडा निर्णय गरेको हो ।
सरकारले कोरोना भाइरस संक्रमित बिरामीको उपचारमा खट्ने चिकित्सक र स्वाथ्यकर्मीले शतप्रतिशत प्रोत्साहन भत्ता पाउने भएका छन् । चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन सरकारले प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो ।
कोरोना कोषमा योगदान गर्न अपील :
प्रदेश ५ सरकारले कोरोना रोकथाम तथा उपचार कोषमा सक्दो योगदान गर्न प्रदेशवासीसँग अपील गरेको छ । प्रदेश सरकारले १० करोड जम्मा गरेर स्थापना गरेको कोषमा स्वेच्छिकरुपमा सक्दो योगदान गर्न अपील गरिएको हो ।
विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न सरकार एक्लैले नसक्ने भन्दै यसविरुद्धको लडाइँमा सबैको साथ र सहयोग आवश्यक रहेको प्रदेश ५ सरकारको भनाइ छ ।देश सरकारले कोरोना रोकथाम तथा उपचारको पूर्व तयारीको कामलाई अघि बढाएको छ । मुख्यमन्त्री शंकर पोखरेलले अहिले भइरहेका कामको जानकारी लिने र फिल्ड निरीक्षण गरी प्रभावकारी बनाउन निर्देशन दिने गरेको उनका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताए ।
स्थानीय तहहरुले पालिकामा भारतसहित अन्य मुलुकबाट आएका नागरिकको खोजी र निगरानी गरिरहेका र कोरोनाको शंकास्पद बिरामी देखिए अस्पताल पुर्याउन एम्बुलेन्सको व्यवस्था गरेकाले नआत्तिन प्रदेश ५ सरकारले प्रदेशवासीलाई आग्रह गरेको छ ।