प्यूठान,
१३ चैत । गृह मन्त्रालयबाट आएको टेन्ट प्रयोग गरी प्यूठान नगरपालिका–४ स्थित गणतान्त्रिक खेलकुद मैदानलाई बिहीबार क्वारेन्टाइन स्थल निर्माण गरिएको छ ।
कोभिड १९ का सम्भावित बिरामीलाई लक्षित गरी ५० जना राख्न सकिने गरी क्वारेन्टाइन निर्माण गरिएको हो । प्यूठान नगरपालिका र ईन्द्रध्वज गण खलंगाले क्वारेन्टाइन स्थल निर्माण गरेको हो । हेल्थ क्याम्पसहितको क्वारेन्टाइनस्थल निर्माण भएको ईन्द्रध्वज गणले जनाएको छ । क्वारेन्टाइन स्थलमा खानेपानी, शौचालयलगायत भौतिक पूर्वाधारको व्यवस्थापनको काम धमाधम भइरहेको प्यूठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपतिले बताए ।
यस्तै प्यूठानमा सबै स्थानीय तहहरुले समेत ५ देखि १० बेडसम्मका क्वारेन्टाइन स्थल निर्माण गरेका छन् । लकडाउनको समयमा समेत भारतबाट विभिन्न नाका हुँदै भाग्दै जिल्ला आएकाहरुलाई क्वारेन्टाइनमा राख्ने योजना रहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थले बताए । विदेशबाट आएकाहरुको लगत लिने काम पालिकामार्फत भइरहेकाले उनीहरुलाई सम्झाइबुझाई बिहीबार बेलुकाबाटै क्वारेन्टाइनमा बसाल्न थालिएको ऐरावती गाउँपालिकाका अध्यक्ष नविलबिक्रम शाहले जानकारी दिएको खबर कान्तिपुरमा प्रकाशित छ ।