२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

विद्यार्थी भर्ना गरिए कडा कारबाही

काठमाडौँ,
१४ चैत ।
कोरोना भाइरसको सङ्क्रमणका कारण मुलुक पूरै लकडाउनमा पुगेको बेला विद्यालयहरूले नयाँ विद्यार्थी भर्ना तथा भर्नाका लागि प्रवेश परीक्षा सञ्चालन गरेको पाइएमा कडा कारबाही गरिने भएको छ ।

विद्यार्थी भर्ना गर्न बोलाउने विद्यालयलाई कारबाही गरी विद्यार्थीको भर्नासमेत खारेज गरिने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्पष्ट गरेको छ । शिक्षा मन्त्रालयका प्रवक्ता तथा सहसचिव दीपक शर्माले कुनै पनि विद्यालयले यस अवधिमा नयाँ भर्ना लिन तथा प्रवेश परीक्षा लिन नपाउने स्पष्ट गर्नुभयो । भर्ना लिइएमा कानुनअनुसार कारबाही गरिने उहाँले स्पष्ट पार्नुभयो ।

सरकारले नै नयाँ भर्ना नलिने भनेको र बढ्दो सङ्क्रमणका कारण मानिसको आवागमन समेत रोकिएको बेला भर्ना लिइए कडा कारबाही गरिने उहाँको भनाइ छ । कुनै विद्यालयले अनलाइनबाट विद्यार्थी भर्ना लिएको हुन सक्ने तर त्यो सम्भावना निकै न्यून रहेको उहाँले बताउनुभयो ।

यसअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयमा पठनपाठन भर्ना लगायतका कुनै पनि गतिविधि नगर्न सबै विद्यालयलाई आह्वान गरेको थियो ।