घोराही,
१५ चैत्र । घोराही उपमहानगरपालिकाले कोरोना भाईरस संक्रमण फैलन नदिन तत्काल करिब एक सय जना व्यक्तिलाई राख्न सक्ने क्वारेन्टाईन कक्ष बनाउने भएको छ ।
उपमहानगरले तत्कालका लागि तीन स्थानमा क्वारेन्टाईन बनाउने निर्णय भएको छ । वडा नम्बर ३ को कुइरेपानी स्थित प्रेरणाका लागि अभियान नेपालको भवन, वडा नम्बर १५ स्थित नेपाल परिवार नियोजन संघको भवन र वडा नम्बर १६ सर्रा स्थित बाल अस्पतालको भवनलाई क्वारेन्टाईन कक्ष बनाउने निर्णय भएको नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिनुभयो ।
नगर प्रमुख चौधरी सहित उपप्रमुख सीता सिग्देल न्यौपाने, नेकपाका केन्द्रिय सदस्य जीवन गौतम, प्रदेश सभासदस्य इन्द्रजित थारु, घोराही उपमहानगरका प्रेस संयोजक निमुसंगम घर्ती, पत्रकारहरु नरेन्द्र केसी, भुपेन्द्र वली सहितको टोलीले कुइरेपानी स्थित क्वारेन्टाईन बनाउने भवनको निरिक्षण गर्नुभएको छ । सोही स्थानमा थप टेन्टहरु छिट्टै निर्माणको थालनी गर्ने नगर प्रमुख चौधरीले बताउनुभयो । त्यहाँ डाक्टर सहितको १४ जना स्वास्थ्यकर्मीहरु खट्ने छन् ।
यस्तै परिवार नियोजन संघमा पनि डाक्टर सहितको टिम हुनेछ, भने उता बाल अस्पतालको भवनमा सञ्चालन गरिने उपचार केन्द्रमा पनि डाक्टर सहितको स्वास्थ्यकर्मीहरु खट्ने छन् । स्वास्थ्यकर्मीहरुलाई प्रदेश सरकारले दिने सेवा सुबिधा बराबरकै सेवा सुबिधा दिने र नगरका सफाईकर्मी एवं नगर प्रहरीलाई समेत नगरको निर्णय अनुसार थप सुुविधा दिने निर्णय भएको उहाँको भनाई छ । ति क्वारेन्टाईनमा उपचार पछि चिकित्सकले दिने सुझाब अनुसार विरामीलाई घरमै राख्ने या अन्य अस्पतालमा पठाउने वा क्वारेन्टाईनमै राख्ने टुंगो लाग्ने छ ।
साथै स्थिती जटिल बन्दै गए नगरका ठूला विद्यालयहरुलाई क्वारेन्टाईन केन्द्रकारुपमा व्यवस्थापन गरिने नगर प्रमुख चौधरीको भनाई छ ।