सल्यान,
१५ चैत । सल्यानका स्थानीय सरकारले कोरोना भाइरसबारे सचेतना जगाउन गाउँगाउँमा माइकिङ गरिरहेको छ।
विश्वभर महामारीको रुपमा कोरोना भाइरस फैलिरहेको अवस्थामा प्रहरी र स्थानीय सरकारको समन्वयमा सचेतनामुलक सन्देशसहित माइकिङ गरिएको हो। ‘जरुरी कामबाहेक अन्य समयमा बाहिर नजाऔं, समय समयमा साबुन पानीले हात धोऔं, अनावश्यक रुपमा जम्मा हुने कार्य नगरौं’ लगायतका सन्देश प्रवाह गरिएको छत्रेश्वरी गाउँपालिका–२ का वडाध्यक्ष प्रेमबहादुर खड्काले बताए।
कुनै एक व्यक्तिको लापरवाहीले धेरै जनधनको क्षति हुने भएकाले माइकिङमार्फत जनतालाई सूचना दिइरहेको खड्काले बताए। कोरोना भाइरस भित्रिन नदिन विदेशबाट आएका व्यक्तिहरुको नाम संकलन गर्ने, उनीहरुलाई घरमै सुरक्षित ढंगले बस्न आग्रह गरिएको दार्मा गाउँपालिका अध्यक्ष नीमबहादुर केसीले बताए। जनप्रतिनिधि र स्वास्थ्यकर्मीले टोलीले कोरोनाबारे घर घरमा पुगेर जानकारी दिने तथा सरसफाइलाई ध्यान दिन अभियान सञ्चालन गरेको उनको भनाइ छ।