दाङ,
१५ चैत । लकडाउनुका कारण नेपाल–भारत सीमामा पर्ने दाङका बस्तीमा खाद्यान्न अभाव भएको छ ।
दाङ देउखुरीका राजपुर र गढवा गाउँपालिकामा पर्ने विभिन्न बस्तीमा खाद्यान्न अभाव हुन थालेको हो । भारतसँग जोडिएको २६ वटा नाका बन्द भएपछि नाकामा खाद्यान्नको अभाव हुन थालेको छ ।
घरमा रहेको खाद्यान्न सकिन थालेपछि समस्यामा परेको स्थानीयले दुखेसो गरेका छन् । दाङको गढवा गाउँपालिका ८ का वडाध्यक्ष सद्दाम सिद्दिकीले व्यक्तिगत लगानीमा झण्डै ३५ हजार रुपैयाँ बराबरको खाद्य सामग्री लिएर कोइलाबास नाका पुगेका छन् ।
वडाध्यक्ष सिद्दिकीले तीन क्विन्टल चामल, २४ लिटर खाने तेल, १५ थैला पिठो, एक पेटी अण्डा, पाँच हजार रुपैयाँको रिचार्ज कार्ड, तीस किलो आलु, तीस लिटर दूध, १० किलो टमाटर र अन्य तरकारी खरिद गरी लगेका हुन् ।