२०८१ बैशाख ४ गते मङ्गलवार
२०८१ बैशाख ४ गते मङ्गलवार

५० करोड भारतीयलाई कोरोना संक्रमण हुने निश्‍चित ?

एजेन्सी,
१५ चैत ।
आउँदो जुलाई महिनाको अन्त्यसम्ममा ४० देखि ५० करोड भारतीयमा कोरोना संक्रमण हुने अनुमान गरिएको छ। संक्रमण हुनेमध्ये धेरैलाई पहिलो चरणमा कुनै लक्षण नदेखिने र एकैपटक मध्यचरणमा मात्रै जटिल लक्षणहरु देखिने न्युयोर्क टाइम्समा प्रकाशित एक लेखमा दाबी गरिएको हो। भारतको सेन्टर फर डिजिज डायनामिक्सका निर्देशक डा. रामानन लक्ष्मीनारायणको सो लेखमा संक्रमण परीक्षणका लागि भारतसँग अत्यावश्यक, पहुँचयोग्य र सजिलै उपलब्ध हुने परीक्षण केन्द्रहरु आवश्यक रहेको र यो व्यवस्था गर्न मात्रै तीनसाता बाँकी रहेको उल्लेख छ।

गत मंगलबार बिहानै प्रधानमन्त्री नरेन्द्र मोदीले १ अर्ब ३० करोड भारतीयहरुलाई २१ दिनसम्म घरबाहिर निस्कने कुरा बिर्सन आग्रह गरेका थिए। कोरोना संक्रमण फैलँदै गएपछि भारतमा २१ दिन लामो लकडाउन लगाइएको छ। तर, नयाँदिल्लीकै व्यापारिक केन्द्रहरुमा कोरोना संक्रमण आमन्त्रण गर्नेगरी मानिसहरु घुइँचो लागिरहेका छन्। भारतमा जनवरी ३० तारिखमा कोरोनाबाट संक्रमित पहिलो व्यक्ति भेटिएका थिए। लगत्तै भारतले विमानस्थलमा यात्रुहरुको स्क्रिनिङ थालेको थियो। तर संक्रमित नै भएपनि केही दिनसम्म कुनै लक्षण नदेखिने भएकाले दैनिक ८० हजार मानिसहरु सजिलै विमानस्थलबाट सर्वसाधारणको पहुँचमा पुगेका थिए। ती मानिसहरुमध्ये अधिकांश कोरोनाले ग्रस्त बनाएको युरोप र खाडी मुलुकहरुबाट गएको बताइएको छ।

भारतमा करोडौं मानिसहरु एक अर्कोसँग भौतिक रुपमा निकट भएर बस्ने गर्छन्। निकै घना झोपडपट्टीहरुमा स्वास्थ्य अवस्था निकै गएगुज्रेको छ। त्यसैले अहिलेसम्म त्यहाँ कति मानिसमा कोरोना संक्रमण फैलियो र कति मानिसले यसको पत्तो पाएका छन् भन्ने नै खुलेको छैन। महामारीविज्ञ रामानन लक्ष्मीनारायण लेख्छन्‌, ुविकसित अन्य देशहरुको अवस्थासँग तुलना गर्दा भारतमा विनाशकारी अवस्था आउने पक्कापक्की देखिन्छ। उच्च रक्तचापका बिरामीलाई पनि कोरोना संक्रमणको प्रभाव निकै बढी हुने चीनमा गरिएका अध्ययनहरुले देखाएको छ।

भारतमा हरेक १० जनामध्ये एकजना मानिसमा उच्चरक्तचापको समस्या छ। चीनमा बच्चाहरुमा यो संक्रमण कम देखिएको छ, तर भारतमा कुपोषणले ग्रस्त करोडौं बच्चाहरु छन्, जसलाई यो संक्रमणले छिट्टै टप्काउन सक्छ।ु क्षयरोगीहरुको संख्या उच्च रहनु, निमोनिया, धुवाँ र वायु गुणस्तरको कमजोर अवस्था कुनै पनि हालतमा स्वासप्रस्वाससम्बन्धी रोग नियन्त्रण गर्न सघाउने खालको छैन। अब भारतमा तातो मौसम शुरु हुने हुनाले संक्रमण नियन्त्रणमा आउने भनिएको छ, तर अहिलेसम्म कोरोना जिवाणु तातोमा नफैलने भन्ने प्रमाणित हुन सकेको छैन।

भारतमा १ लाखभन्दा पनि कम आइसीयु शैया छन्। भेन्टिलेटरको संख्या मुस्किलले २० हजार जति छ। यी मध्ये पनि धेरैजसो त ठूला शहरहरुमा केन्द्रित राखिएको खबर थाहाखबर मा प्रकाशित छ ।